काठमाण्डौ । मंगलबारको कारोबारमा सेयरबजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०३ प्रतिशत अर्थात ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले बढेर ४६२.२२ विन्दुमा पुगेको छ ।
यससँगै नेप्सेको लगातार तेस्रो दिनको गिरावटमा ब्रेक लागेको छ ।
आज नेप्सेमा सूचीकृत ३४० वटा स्क्रिप्टको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ११ करोड ९ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ६७ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘बजार बढ्नुपर्ने सिजनमै बढ्न सकेन अब मार्केट विस्तारै तल जान्छ । यतिबेला बजारमा पैसा छैन, लगानीकर्ताहरुले लगानी थप्न सकिरहेका छैनन् । केहीले सेयर किनेपनि उनीहरुको लागि मोटिभ हुने अवस्था छैन । विशेषगरी साउन महिना बजारको लागि सिजन मानिएपनि यहि समयमा नै अब बजार नबढेपछि बजार विस्तारै ‘लो ट्रेन्ड’मै जाने देखिन्छ ।’
उनले थपे, ‘ब्रोकरहरुले मार्जिन ट्रेडिङको सुविधा दिन थालेपनि यसले बजारलाई कुनै प्रभाव पार्ने देखिदैन । यस्तो सुविधाले केही खेलाडीहरुले ‘सेयर कर्नरिङ’ गरेर फाइदा उठाउन सक्छन् तर अधिकांश लगानीकर्तालाई पनि केही फाईदा हुने देखिदैन ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमध्ये ६ वटामा हरियाली छायो भने ७ वटामा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात ०.५० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३२ प्रतिशत, हाईड्रो ०.०५, लगानी ०.०७, जीवन बीमा ०.०९ र अन्य ०.०३ प्रतिशतले बढ्यो ।
यो दिन व्यापार समूह सर्वाधिक अर्थात ०.७७ प्रतिशतले घट्यो । यस्तै विकास बैंक ०.१०, फाइनान्स ०.०७, उत्पादन तथा प्रशोधन ०.०८, लघुवित्त ०.३६, म्युचुअल फण्ड ०.४० र निर्जीवन बीमा ०.४० प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज सोलु हाईड्रो पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४४ करोड ८७ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिडी पावर कम्पनीको ३३ करोड ६७ लाख, ङादी ग्रुप पावरको १७ करोड ८६ लाख र खानीखोला हाईड्रोको १३ करोड ७७ लाख र फस्र्ट माइक्रोफाइनान्सको ११ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरु मध्ये अप्पर लोहरे खोलाको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज हिमस्टार उर्जाको सेयरमूल्य ३.७४ प्रतिशत र अपर हेवाखोला हाईड्रोको सेयरमूल्य ३.६० प्रतिशतले बढ्यो ।
यो दिन महिला लघुवित्तको मूल्य सेयरमूल्य सर्वाधिक अर्थात १४.९१ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
1 प्रतिक्रियाl***
Jay shambhu aba Jay Rakas. Yesto buying opportunity dasak ma ek choti aako ho ki
28 दिन अगाडी