काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा ब्रोकरका लागि नेपालमा कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ। प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा चौथो संशोधन गर्दै विदेशी पुनर्बीमा दलाललाई सूचीकरण नम्बर प्राप्त गरेको एक वर्षभित्र नेपालमा कार्यालय स्थापना गरिसक्नुपर्ने व्यवस्था गरेको हो।
संशोधित व्यवस्थाअनुसार, प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गरेका विदेशी पुनर्बीमा ब्रोकरले एक वर्षभित्र शाखा कार्यालय, सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गर्नुपर्नेछ।
यसअघि विदेशी पुनर्बीमा ब्रोकरहरूले नेपालमा स्थायी कार्यालय स्थापना नगरी प्रतिनिधि मात्र खटाएर पुनर्बीमा कारोबार गर्दै आएका थिए। यस्तो अभ्यासलाई निरुत्साहित गर्दै नेपालमा उनीहरूको नियामकीय उपस्थिति सुनिश्चित गर्न प्राधिकरणले कार्यालय स्थापनाको समयसीमा तोकेको हो।
नयाँ व्यवस्थाले विदेशी पुनर्बीमा ब्रोकरलाई नेपालमा औपचारिक रूपमा उपस्थित भई आफ्नो कारोबार सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना गरेको छ। यसबाट पुनर्बीमा कारोबारमा नियमन, पारदर्शिता र जवाफदेहिता थप मजबुत हुने अपेक्षा गरिएको छ।
यसैगरी, प्राधिकरणले स्वदेशी पुनर्बीमक, स्वदेशी पुनर्बीमा दलाल तथा प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गरेका विदेशी पुनर्बीमक र पुनर्बीमा दलालसँग मात्र बीमा कारोबार गर्नुपर्ने व्यवस्था पनि गरेको छ।
संशोधित व्यवस्थाले नेपालमा पुनर्बीमा कारोबार गर्ने संस्थाहरूको नियमनलाई थप व्यवस्थित गर्दै विदेशी पुनर्बीमा कम्पनी तथा ब्रोकरको स्थानीय उपस्थितिलाई समेत संस्थागत गर्ने लक्ष्य लिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।