काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा, उत्कृष्ट कर्मचारी तथा शाखाको सम्मान र आगामी आर्थिक वर्षको रणनीतिक योजना निर्माण गर्ने उद्देश्यले आयोजना गरेको ‘Vision to Value 2083’ कार्यक्रम सम्पन्न गरेको छ। ‘Empowering the Pinnacle for Elite Results’ नारासहित आयोजित कार्यक्रम पोखरामा दुई दिनसम्म सञ्चालन भएको हो।
कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया र सञ्चालक समितिका सदस्य भरत कुमार तोदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा तथा उपशाखा प्रमुख, मार्केटिङ अफिसर र कस्टमर सर्भिससम्बन्धी कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले गत आर्थिक वर्षमा कम्पनीले बीमाशुल्क संकलनमा हासिल गरेको उपलब्धिप्रति कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि सामूहिक प्रयास र प्रभावकारी समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले संस्थाको दिगो विकासका लागि नयाँ उत्पादनमा नवप्रवर्तन, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) गतिविधि तथा शाखा कार्यालयहरूको मानकीकरणलाई प्राथमिकतामा राखिने बताए।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीको आगामी रणनीतिमा उत्पादन विविधीकरण, बजारको बदलिँदो आवश्यकता बुझ्ने क्षमता, कर्पोरेट सुशासन र अनुपालनलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। उनले दीगो व्यावसायिक वृद्धि हासिल गर्दै ग्राहक तथा अन्य सरोकारवालाका लागि थप मूल्य सिर्जना गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्दै लक्ष्य हासिल गर्ने क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा तथा उपशाखा प्रमुख, मार्केटिङ अफिसर र कस्टमर सर्भिस एक्जुकेटिभलगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
दुईदिने कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्षको व्यावसायिक तथ्यांक तथा कार्यसम्पादन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा कम्पनीलाई थप उचाइमा पुर्याउन सबै तहका कर्मचारीले थप उत्साह र प्रतिबद्धताका साथ काम गर्नुपर्ने बताए। कार्यक्रममा उत्कृष्ट शाखा तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्ना कार्यअनुभव, सफल अभ्यास र सिकाइसमेत आदानप्रदान गरेका थिए।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवाको विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणालीको सुदृढीकरण तथा दीर्घकालीन ग्राहक विश्वास निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ। कम्पनीका अनुसार हाल देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी, लगानी २५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा आबद्ध छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।