काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२÷८३ मा उल्लेख्य नाफा कमाएको छ ।
गत आवको अन्त्यसम्ममा कम्पनीले ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०६.६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन २५.८७ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी २१.५९ प्रतिशतले बढेको छ । यस अवधिमा खुद दाबी भुक्तानी २७.६९ प्रतिशत र कुल खर्च २४.८० प्रतिशतले वृद्धि भएको छ ।
नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको इपीएस ४.०३ रुपैयाँले बढेर ७.८२ रुपैयाँ पुगेको छ । चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको मूल्य–आम्दानी अनुपात ५५.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६० पैसा रहेको छ ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, सेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४९ करोड ८३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीले सो अवधिसम्म ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ भने बीमा कोषको आकार ३६.१२ प्रतिशत बढेर कोषमा २७ अर्बै २ करोड ६६ लाख रुपैयाँ संचित रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।