काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ को वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको नाफामा संकुचन आएको छ ।
गत आवमा कम्पनीले ५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २६.२७ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले ६ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानीमा सुधार देखिएपनि इम्पेयरमेन्ट चार्ज बढेका कारण नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ७.७४ प्रतिशतले बढेर २८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
यता कम्पनीको इम्पेयरमेन्ट चार्ज भने ह्वात्तै बढेको छ । अघिल्लो आवमा १ करोड ९६ लाख रुपैयाँ मात्रै इम्पेयरमेन्ट चार्ज तिरेको यो कम्पनीले गत आवमा ८ करोड ५४ लाख रुपैयाँ तिरेको छ । यसर्थमा कम्पनीको यस्तो चार्ज ३३५.६९ प्रतिशत बढेको छ ।
कम्पनीको इपीएस ६.१२ रुपैयाँबाट घटेर ४.५१ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ ११६.७८ रुपैयाँ, पीई रेसियो ९९.७६ गुणा, तरलता अनुपात २३.२५ प्रतिशत रहेको छ ।
कम्पनीको खराब कर्जा अनुपात (एनपीएल)मा भने सुधार देखिएको छ । अघिल्लो आवमा ८.३९ प्रतिशत रहेको एनपीएल गत आवमा सुधारिएर ६.५५ प्रतिशतमा झरेको छ ।
त्यस्तै, पूँजीकोष अनुपात १२.४९ प्रतिशत, कस्ट अफ फण्ड ४.५४ प्रतिशत, सीडी रेसियो ८५.०२ प्रतिशत, बेस रेट ६.७२ प्रतिशत, स्प्रेड दर ४.१५ प्रतिशत रहेको छ ।
सो अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा १५ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसर्थ कम्पनीको लाभांश क्षमता पनि १३.४७ प्रतिशत ऋणात्मक रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।