काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर नम्बर ९३ बेनी सेक्युरिटिज प्रालिलाई तीन कार्यदिनका लागि निलम्बन गरेपछि नेपाल सेयर बजार लगानीकर्ता संघले गम्भीर आपत्ति जनाएको छ। संघले ब्रोकरमाथिको कारबाहीको प्रत्यक्ष असर निर्दोष ग्राहक लगानीकर्तामाथि परेको भन्दै तत्काल वैकल्पिक व्यवस्था गर्न माग गरेको हो।
नेप्सेले भदौ ३ गतेको पत्रमार्फत सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सोही मितिको सिफारिसका आधारमा तोकिएको समयभित्र राफसाफ तथा फछ्र्योट कार्य नगरेको भन्दै धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१)(छ) बमोजिम बेनी सेक्युरिटिजलाई तीन कार्यदिनका लागि निलम्बन गरेको थियो।
संघका महासचिव रवीन कडेलद्वारा जारी विज्ञप्तिमा निलम्बनका कारण उक्त ब्रोकरमा खाता रहेका हजारौँ ग्राहकको सेयर खरिद–बिक्री प्रभावित भएको उल्लेख छ। ब्रोकरमाथि कारबाही गर्दा त्यसको असर ग्राहक लगानीकर्तामाथि पर्ने अवस्थाले नियामकीय प्रक्रिया र लगानीकर्ता संरक्षणसम्बन्धी गम्भीर प्रश्न उठाएको संघको भनाइ छ।
संघले सिडिएससीको सिफारिस र नेप्सेको निलम्बन पत्र दुवैको मिति एउटै रहेको उल्लेख गर्दै यति छोटो अवधिमा निर्णय गर्दा प्रत्यक्ष प्रभावित हुने ग्राहकको हितबारे पर्याप्त विचार गरिएको थियो कि थिएन भन्ने प्रश्न उठाएको छ। साथै, निलम्बन अवधिमा ग्राहकको रकम तथा सेयरको सुरक्षा, चालु राफसाफमा रहेका कारोबारको फछ्र्योट र वैकल्पिक कारोबार व्यवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक नगरिएको भन्दै संघले आपत्ति जनाएको छ।
ब्रोकरले तोकिएको समयमा राफसाफ तथा फछ्र्योट गर्न नसक्नुको कारणसमेत सार्वजनिक हुनुपर्ने संघको माग छ। ग्राहक रकमको दुरुपयोग भएको भए त्यसलाई सामान्य निलम्बनबाट मात्र टुंग्याउन नहुने भन्दै संघले स्वतन्त्र अनुसन्धान गरी निष्कर्ष सार्वजनिक गर्नुपर्ने जनाएको छ।
संघले ब्रोकर वा त्यसका जिम्मेवार पदाधिकारीको गल्तीको सजाय निर्दोष ग्राहकले भोग्नुपर्ने अवस्था न्यायोचित नहुने बताएको छ। बजार घटिरहेका बेला सेयर बिक्री गर्न नपाउनु वा अवसरका समयमा शेयर खरिद गर्न नपाउनुबाट लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति हुन सक्ने भन्दै संघले नियामकले लगानीकर्ताको कारोबार अवरुद्ध हुनेभन्दा पनि बजारलाई सुरक्षित रूपमा सञ्चालन गर्ने उपाय खोज्नुपर्ने धारणा राखेको छ।
संघले बेनी सेक्युरिटिजका सम्पूर्ण ग्राहकको कारोबार तत्काल फुकुवा गर्न वा ग्राहकको सम्पत्ति र कारोबारमा असर नपर्ने गरी ब्रोकर स्थानान्तरण अथवा वैकल्पिक कारोबारको स्पष्ट व्यवस्था तत्काल सार्वजनिक गर्न माग गरेको छ।
त्यस्तै, राफसाफ तथा फछ्र्योटमा त्रुटि गर्ने ब्रोकर कम्पनी र जिम्मेवार पदाधिकारीमाथि लक्षित स्वतन्त्र अनुसन्धान गरी कानूनबमोजिम कारबाही गर्न तथा निलम्बन अवधिमा ग्राहकको रकम, सेयर र चालु राफसाफको सुरक्षाबारे नेप्से र सिडिएससीबाट तत्काल आधिकारिक स्पष्टोक्ति जारी गर्न संघले आग्रह गरेको छ।
भविष्यमा कुनै ब्रोकरको समस्याका कारण निर्दोष लगानीकर्ताको कारोबार प्रभावित नहोस् भन्नका लागि ग्राहक खाता छुट्याउने व्यवस्था, तत्काल ब्रोकर स्थानान्तरण संयन्त्र तथा क्षतिपूर्ति कोषको प्रभावकारी परिचालनसहित संरचनागत सुधार गर्नुपर्ने संघको माग छ।
संघका महासचिव कडेलले ‘दोषीलाई कारबाही गरियोस्, निर्दोषलाई सजाय नदिइयोस्’ भन्दै ब्रोकरको कारबाहीका नाममा लगानीकर्ता र समग्र पुँजी बजारप्रतिको विश्वास कमजोर पार्ने अवस्था सिर्जना नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।