काठमाण्डौ । सेयरबजारमा लगानी गरेर लगानीकर्ताले अपेक्षित रिटर्न पाउन नसकिरहेका बेला ब्रोकर कम्पनीहरूको आम्दानी भने करोडौं रुपैयाँमा हुने गरेको छ । बजारमा सेयरको मूल्य बढोस् वा घटोस्, कारोबार हुँदा ब्रोकर कम्पनीहरूले कमिसन पाउने भएकाले उनीहरूको आम्दानी सुनिश्चित हुने गरेको हो ।
लगानीकर्ताले सेयर किनबेच गर्दा कारोबार रकमका आधारमा ब्रोकर कम्पनीलाई कमिसन तिर्नुपर्छ । बजारमा कारोबारको मात्रा बढेसँगै ब्रोकर कम्पनीहरूको कमिसन आम्दानी पनि बढ्ने गर्छ । यसको विपरीत सेयरको मूल्यमा आएको गिरावट, बजारको अस्थिरता तथा कमजोर प्रतिफलको असर भने प्रत्यक्ष रूपमा लगानीकर्ताले व्यहोर्नुपर्छ ।
पछिल्लो समय सेयरबजारमा सुक्ष्म कारोबार भइरहे पनि धेरै लगानीकर्ताले आफ्नो लगानीबाट अपेक्षित प्रतिफल पाउन नसकेको गुनासो गर्दै आएका छन् । बजारमा लगानी गरेर पूँजीगत लाभ हासिल गर्न नसक्दा लगानीकर्ताको प्रतिफल कमजोर बनेको छ । तर, लगानीकर्ताले सेयर किनबेच गरेबापत तिर्ने कमिसनबाट ब्रोकर कम्पनीहरूको आम्दानी भने निरन्तर भइरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२–८३ मा ९४ ब्रोकर कम्पनीहरुले पौने ७ अर्ब रुपैयाँ कमिसन आम्दानी गरेका छन् । कम्पनीहरुले १६ खर्ब १ अर्ब ८७ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबारमा ६ अर्ब ८९ करोड १९ लाख रुपैयाँ कमिसन आम्दानी गरेका हुन् ।
विशेषगरी बजारमा कारोबार रकम र कारोबारको संख्या उच्च हुँदा लगानीकर्ताको ठूलो हिस्सा नाफामा नरहे पनि ब्रोकर कम्पनीहरूले कमिसनमार्फत राम्रो आम्दानी गर्न सक्छन् । बजारमा उतारचढाव बढ्दा लगानीकर्ताले छोटो अवधिमा बढी किनबेच गर्ने भएकाले ब्रोकरको कमिसन आम्दानीसमेत बढ्ने गरेको देखिएको छ ।
सेयरबजारमा लगानीकर्ताले नाफा कमाउन कम्पनीको वित्तीय अवस्था, सेयर मूल्यको उतारचढाव र बजारको समग्र अवस्थाजस्ता विषयको जोखिम लिनुपर्छ । तर ब्रोकर कम्पनीको मुख्य आम्दानी भने कारोबार गराएबापत प्राप्त हुने कमिसनमा आधारित हुने भएकाले बजारको दिशाभन्दा कारोबारको मात्रा ब्रोकरहरुको आम्दानीका लागि महत्वपूर्ण देखिएको छ ।
यसकारण बजारमा लगानीकर्ताको नाफा–नोक्सानभन्दा कारोबारको आकार र सक्रियता ब्रोकर कम्पनीहरूको आम्दानीका लागि बढी निर्णायक हुने गरेको छ। लगानीकर्ताले भने बजारमा कारोबार गर्दा सेयर मूल्यमा हुने सम्भावित लाभसँगै कमिसन, कर तथा अन्य शुल्कलाई समेत हिसाब गर्नुपर्ने हुन्छ ।
वार्षिक तथ्यांकअनुसार शीर्ष १० ब्रोकर कम्पनीले मात्रै २ अर्ब ३२ करोड ४ लाख ३० हजार रुपैयाँ कमिसन आम्दानी गरेका छन् । यो कुल कमिसन आम्दानीको ३३.६७ प्रतिशत हो ।
वार्षिक रूपमा सबैभन्दा धेरै कमिसन आम्दानी गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । नासाले एक वर्षमा ४७ करोड १८ लाख ४० हजार ८४४ रुपैयाँ कमिसन आम्दानी गरेको छ ।
त्यस्तै, भिजन सेक्युरिटिजले २५ करोड ८६ लाख ५० हजार रुपैयाँ, सनि सेक्युरिटिजले २४ करोड ८६ लाख, इम्पेरियल सेक्युरिटिजले २४ करोड ५२ लाख, अनलाइन सेक्युरिटिजले २२ करोड २३ लाख रुपैयाँ कमिसन आम्दानी गरेको छ ।
यसका साथै त्रिशक्ति सेक्युरिटिजले १९ करोड ९५ लाख, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले १८ करोड २९ लाख, डायनामिक मनि म्यानेजर्सले १८ करोड १२ लाख, दिपशिखा धितोपत्र कारोबार कम्पनीले १६ करोड २० लाख रुपैयाँ र एबीसी सेक्युरिटिजले १४ करोड ७९ लाख रुपैयाँ कमिसन आम्दानी गरेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।