सोमबार, भाद्र ८,२०८३ 12:23:45
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 12:23:45
Bizshala
Global IME Bank Limited

रिकभरी रणनीति फेल, कर्मचारीलाई दोष दिएर उम्किने खेल !

प्रभू बैंकभित्र विद्रोहको आगो, सामूहिक राजीनामाको चेतावनी

रिकभरी रणनीति फेल, कर्मचारीलाई दोष दिएर उम्किने खेल !
New Office

काठमाडौं। वित्तीय सूचकमा आएको भयावह गिरावटले थलिएको प्रभू बैंकभित्र अब नेतृत्व र आन्तरिक व्यवस्थापनको संकटसमेत चर्किएको छ।

सुमन शर्मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेर आएको करिब ६ महिनापछि प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणले बैंकको नाफा, खराब कर्जा, कर्जा नोक्सानी व्यवस्थापन, पूँजी पर्याप्तता र वितरणयोग्य नाफालगायत प्रमुख सूचकमा गम्भीर गिरावट देखाइसकेको छ। संकटग्रस्त वित्तीय अवस्थालाई सुधार्ने जिम्मेवारी पाएका शर्मा कर्मचारीलाई एकताबद्ध बनाएर परिणाम निकाल्न असफल भएको आरोपसमेत बैंकभित्रैबाट उठेको छ।

अझ रोचक त के छ भने बैंकभित्रका कर्मचारीले सीईओ शर्मा सीमित व्यक्तिको घेरामा बसेर एकपक्षीय निर्णय गरिरहेको आरोप लगाइरहेका छन्। उता, शर्मा भने अन्य बैंकका सीईओहरूसँग कर्मचारीको असहयोगकै कारण आफूले अपेक्षित परिणाम दिन नसकेको गुनासो गरिरहेका छन्।

यसले प्रभू बैंकको समस्या कमजोर वित्तीय सूचकमा मात्रै सीमित नभई नेतृत्व र कर्मचारीबीचको अविश्वाससम्म फैलिएको संकेत गर्छ।

Bizshala
CG Motors

नाफाबाट अर्ब घाटामा, खराब कर्जा दोब्बर

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक विवरणअनुसार प्रभू बैंक अघिल्लो वर्षको ८७ करोड २३ लाख रुपैयाँ खुद नाफाबाट १ अर्ब ९ करोड २८ लाख रुपैयाँ खुद घाटामा पुगेको छ।

बैंकको प्रकाशित खराब कर्जा अनुपात एक वर्षमै ७.०१ प्रतिशतबाट बढेर १५.५५ प्रतिशत पुगेको छ। खुद खराब कर्जा अनुपात पनि १.७६ प्रतिशतबाट बढेर ६.२१ प्रतिशत पुगेको छ।

कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज २ अर्ब ४० करोड रुपैयाँबाट बढेर ४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य घाटा ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने कर्जा नोक्सानी धान्ने क्षमता मापन गर्ने ‘लोन लस कभरेज रेसियो’ १२६.६५ प्रतिशतबाट घटेर ६९.२७ प्रतिशतमा सीमित भएको छ।

पूँजी पर्याप्तता अनुपातसमेत १२.५० प्रतिशतबाट घटेर ११.८३ प्रतिशतमा झरेको छ। यी सूचकहरूले बैंकको कर्जा असुली तथा जोखिम नियन्त्रण रणनीतिले अपेक्षित परिणाम दिन नसकेको देखाउँछन्।

प्रभू बैंकका आधिकारिक स्रोतहरूले यसअघि बिजशालासँग प्रकाशित विवरणमा देखाइएको भन्दा वास्तविक खराब कर्जा निकै ठूलो रहेको दाबी गरेका थिए। उनीहरूका अनुसार बैंकको वास्तविक खराब कर्जा २५ प्रतिशतभन्दा माथि पुगेको हुनसक्छ। यद्यपि, यो दाबीको स्वतन्त्र पुष्टि भएको छैन र बैंकले पनि यस विषयमा विस्तृत स्पष्टीकरण दिएको छैन।

रिकभरी रणनीतिमै उठ्यो प्रश्न

संकटमा रहेको बैंकको नेतृत्व सम्हालेपछि शर्माबाट खराब कर्जा असुली, जोखिमपूर्ण कर्जाको व्यवस्थापन र कर्मचारी परिचालनमा ठोस सुधार अपेक्षा गरिएको थियो। तर, चौथो त्रैमासिक वित्तीय विवरणले खराब कर्जा घट्नुको साटो तीव्र रूपमा बढेको देखाएको छ।

इम्पेयरमेन्ट चार्ज दोब्बरभन्दा बढी हुनु, खुद खराब कर्जा ६.२१ प्रतिशत पुग्नु र कर्जा नोक्सानी धान्ने अनुपात उल्लेख्य रूपमा घट्नुले शर्माले लिएको भनिएको रिकभरी रणनीतिको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

बैंक व्यवस्थापनले खराब कर्जा व्यवस्थापनका लागि केन्द्रीय बैंकसँग समेत परामर्श गरिरहेको स्रोतको दाबी छ। तर, प्रकाशित विवरणमै खराब कर्जा १५.५५ प्रतिशत देखिएपछि वास्तविक जोखिम, गरिएको प्रोभिजन र बैंकको पूँजीमाथि पर्न सक्ने थप दबाबबारे निष्पक्ष नियामकीय परीक्षण आवश्यक देखिएको छ।

संकट टार्ने बेला कर्मचारीमै फुट ?

वित्तीय संकटसँग जुध्न सम्पूर्ण कर्मचारीलाई एउटै उद्देश्यमा परिचालन गर्नुपर्ने बेला सीईओ शर्मामाथि कर्मचारीबीच विभाजन ल्याएर शासन गर्न खोजेको आरोप लागेको छ।

बिजशालासँग अनौपचारिक कुराकानी गरेका केही कर्मचारीले शर्मा सीमित व्यक्तिको सल्लाहमा निर्णय गर्ने, फरक धारणा राख्नेलाई बेवास्ता गर्ने र लामो समयदेखि बैंकमा काम गरिरहेका कर्मचारीको मनोबल गिराउने शैलीमा अघि बढेको आरोप लगाए।

उनीहरूका अनुसार शर्माले नेतृत्व सम्हालेपछि बैंकभित्र विश्वासको वातावरण कमजोर भएको छ। जिम्मेवारीपूर्वक काम गर्ने कर्मचारीलाई प्रोत्साहित गर्नुको साटो दबाबमा राख्ने प्रवृत्ति बढेको उनीहरूको दाबी छ।

एक कर्मचारीले आक्रोशित हुँदै भने, ‘यस्तै रबैया कायम रहने हो भने हामी सबै कर्मचारीले एकसाथ राजीनामा दिएर बैंक खाली गरिदिन्छौँ। त्यसपछि उहाँले आफ्नै मान्छे भर्ती गरेर बैंक चलाए हुन्छ।’

यो अभिव्यक्तिले बैंकभित्रको असन्तुष्टि कुन हदसम्म चुलिएको छ भन्ने देखाउँछ। 

१० वर्ष ‘कोर बैंकिङ’बाहिर रहेका व्यक्ति दोस्रो वरीयतामा

शर्माको पछिल्लो मानव संसाधनसम्बन्धी निर्णयले पनि बैंकभित्र असन्तुष्टि बढाएको छ। बैंकमा लामो समयदेखि कार्यरत वरिष्ठ कर्मचारीलाई पन्छाउँदै करिब १० वर्षसम्म कोर बैंकिङ भूमिकाबाट अलग रहेका व्यक्तिलाई सीईओपछिको दोस्रो वरीयतामा ल्याइएको छ।

यो निर्णयले संकटका बेला कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा बैंक सम्हालेका निरज लम्साल तेस्रो वरीयतामा पुगेका छन्। कर्मचारीहरू यसलाई बैंकभित्रको अनुभव, योगदान र संस्थागत निरन्तरतामाथिको उपेक्षाका रूपमा हेर्छन्।

लम्सालले कठिन परिस्थितिमा बैंकको नेतृत्व सम्हालेको र कर्मचारीको ठूलो समूहले उनलाई स्वाभाविक नेतृत्वका रूपमा स्वीकार गरेको उनीनिकट स्रोतको दाबी छ। तर, नयाँ नियुक्तिसँगै उनी बैंकमै रहने वा बाहिरिने भन्ने दोधारमा पुगेको बताइएको छ।

लम्साल र उनलाई नेतृत्वदायी बैंकर मान्ने कर्मचारीको ठूलो समूह सीईओ शर्मासँग असन्तुष्ट रहेको स्रोत बताउँछ। बैंकभित्र लामो समय काम गरेका जनशक्तिको वरीयता, मनोबल र करिअर विकासमा असर पर्ने गरी बाहिरबाट व्यक्ति ल्याउँदा उत्पन्न हुने संस्थागत जोखिमतर्फ नेपाल राष्ट्र बैंकले समेत ध्यान नदिएको कर्मचारीहरूको गुनासो छ।

कर्मचारीलाई दोष दिँदै हिँडेको आरोप

बैंकभित्रका कर्मचारीले शर्मा सीमित घेराबाट चलेको आरोप लगाइरहेका बेला शर्मा स्वयंले भने अन्य वाणिज्य बैंकका सीईओहरूसँग कर्मचारीबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेको खुलेको छ।

केही दिनअघि १२०० मेगावाट क्षमताको एक जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी भएका बैंकका सीईओहरूबीच प्रभू बैंकको कमजोर अवस्थाबारे चर्चा भएको थियो।

त्यस क्रममा एक बैंकका सीईओले प्रभू बैंकको अवस्था निकै जर्जर बनेको विषय उठाएपछि शर्माले तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीबाट भित्रभित्रै असहयोग भइरहेको र त्यसकै कारण आफूले अपेक्षित परिणाम दिन नसकेको दाबी गरेको कार्यक्रममा सहभागी अर्का एक बैंकका सीईओले बिजशालालाई बताए।

प्रभू बैंकको बिग्रँदो अवस्थाबारे पछिल्लो समय नेपाल बैंकर्स संघभित्रसमेत अनौपचारिक छलफल हुन थालेको बैंकरहरू बताउँछन्।

तर, कर्मचारीको असहयोगलाई कमजोर प्रदर्शनको प्रमुख कारण देखाउने शर्माको तर्कमा अर्का एक वाणिज्य बैंकका सीईओ सहमत देखिएनन्।

‘सबै पक्षलाई मिलाएर काम गराउने जिम्मेवारी नेतृत्वकै हो,’ ती बैंकरले भने, ‘सुमन सीमित घेराभित्र बस्न र सीमित व्यक्तिको कुरा मात्रै सुन्न रुचाउँछन्। कर्मचारीबाट असहयोग भएको हो भने त्यसको कारण पनि उनको नेतृत्व शैलीमै खोज्नुपर्छ।’

असफलताको जिम्मेवारी कसको ?

प्रभू बैंकको संकट अब तीन तहमा देखिएको छ-वित्तीय सूचकको तीव्र गिरावट, कमजोर कर्जा असुली र नेतृत्व-कर्मचारीबीच बढ्दो अविश्वास।

बैंकको प्रकाशित खराब कर्जा नै १५.५५ प्रतिशत पुगेको, अर्बभन्दा बढी खुद घाटा भएको र वितरणयोग्य घाटा ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको अवस्थामा नेतृत्वले कर्मचारीलाई दोष दिएर मात्रै जिम्मेवारीबाट उम्कन मिल्दैन।

सीईओको काम निर्देशन दिनु मात्र होइन, सही टोली निर्माण गर्नु, असन्तुष्ट कर्मचारीलाई विश्वासमा लिनु, योग्य जनशक्तिको मनोबल जोगाउनु र मापन गर्न सकिने परिणाम दिनु पनि हो। बैंकका प्रमुख वित्तीय सूचक ओरालो लागिरहेका बेला कर्मचारी र नेतृत्वबीचको टकराव झन् बढ्नु निक्षेपकर्ता, सेयरधनी र नियामकका लागि गम्भीर चिन्ताको विषय हो।

प्रभू बैंकमा देखिएको समस्या सामान्य व्यवस्थापकीय असमझदारी हो वा संस्थागत सुशासनकै संकट हो भन्ने विषयमा नेपाल राष्ट्र बैंकले निष्पक्ष निरीक्षण गर्नुपर्ने आवश्यकता बढेको छ।

सीईओ शर्मा र प्रभू बैंक व्यवस्थापनलाई पछिल्ला समाचारमा उठेका वित्तीय तथा व्यवस्थापकीय प्रश्नमा बिजशालाले पटक-पटक प्रतिक्रिया मागे पनि जवाफ प्राप्त भएको छैन। यस समाचारमा उठेका विषयमा बैंक वा शर्माबाट आधिकारिक प्रतिक्रिया आएमा बिजशालाले त्यसलाई उचित स्थान दिनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.