काठमाण्डौ । चीनको ल्हेन्दे खोलामा आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ तीव्र गतिमा बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौँबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार बिहानदेखि नागढुंगा र भीमढुंगा नाका हुँदै ती जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौँमै ‘होल्ड’ गरेको हो।
त्रिशूली नदीमा बाढीको बहाव बढ्दै जाँदा राजमार्ग तथा नदी आसपासका क्षेत्रमा जोखिम हुनसक्ने आकलनपछि सवारी आवागमनमा रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका एसपी नरेश सुवेदीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङ, रसुवा र चितवनतर्फ जान लागेका सवारीलाई तत्कालका लागि अगाडि नबढ्न भनिएको छ।
ट्राफिक प्रहरीले सार्वजनिक यातायात व्यवसायीहरूलाई समेत नागढुंगा र भीमढुंगा नाका हुँदै ती क्षेत्रतर्फ सवारी नपठाउन आग्रह गरेको छ।
‘जोखिमका कारण त्यसतर्फ जान लागेका सवारीलाई नजान भनिएको छ,’ एसपी सुवेदीले बताए। उनका अनुसार यातायात व्यवसायीलाई समेत सार्वजनिक सवारी नपठाउन अनुरोध गरिएको छ।
सवारी आवागमनमा लगाइएको रोक सार्वजनिक यातायातमा मात्रै सीमित छैन। त्यसतर्फ जाने चारपाङ्ग्रे निजी सवारी तथा दुईपाङ्ग्रे सवारीसाधनलाई समेत ट्राफिक प्रहरीले रोकिरहेको छ।
भोटेकोशी हुँदै आएको बाढी त्रिशूलीमा मिसिएपछि नदी तटीय क्षेत्र र पृथ्वी राजमार्ग आसपासका स्थानमा जोखिम बढेको भन्दै सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।