काठमाण्डौ । बिहिबारको कारोबारमा सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०४ प्रतिशत अर्थात १.०४ अंकले घटेर २ हजार ५५७.३१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४५१.१२ विन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टको १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ७८ करोड ६४ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ७७ करोड ३८ लाख बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘पछिल्लो समय बजार घट्दो क्रममै थियो, झनै हिजोको रसुवा बाढीको वितण्डाले थप मार्केटलाई धक्का पुग्यो । विशेषगरी बाढीले हाइड्रो आयोजनाहरुमा प्रभाव पारेका कारण यो समूहमा बढी प्रेसर देखिएको छ । हिजो पनि हाइड्रो समूहका सबै कम्पनीको सेयरभाउ घटेका थिए ।’
उनले थपे, ‘हाइड्रोको क्षति हेरेर लगानीकर्ताहरुले सेयर बिक्री गरेको हुन सक्छ तर त्यसरी आत्तिनुपर्ने देखिदैन । समग्र बजारको सपोर्ट जोन राम्रै छ । बजार घट्ने क्रममै भएका कारण लगानीकर्ताहरु आत्तिएका हुन् अब बजारमा थप प्यानिक सेल आउदैन । केही दिनमा बजार फर्किन सक्ने देखिन्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा रातो पोतियो भने अन्य ८ वटामा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.७५ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१४ प्रतिशत, विकास बैंक ०.४४, लघुवित्त ०.६६, होटल ०.४१, लगानी ०.१५ र लघुवित्त ०.१२ प्रतिशतले बढ्यो । व्यापार समूह भने ०.१२ अंकले बढ्यो ।
म्युचुअल फण्ड समूह आज सर्वाधिक अर्थात ३.१२ प्रतिशतले घट्यो । हाईड्रो समूह पनि आज ०.५५ प्रतिशत, जीवन बीमा ०.२४, निर्जीवन बीमा २.०४ र अन्य १.०७ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २१ करोड ७५ लाख बढीको सेयर कारोबार भयो । यस्तै एसबीआई बैंकको १६ करोड ६६ लाख, चिलिमे हाईड्रोको १६ करोड ७ लाख, आँखुखोला जलविद्युतको ११ करोड ६१ लाख र रिलायन्स स्पिीनिङ मिल्सको १० करोड ९७ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरु मध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज सर्वोत्तम पेन्ट्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै घोराही सिमेन्टको सेयरमूल्य ८.१९ प्रतिशत, सोनापुर मिनरल्सको ५.०५, भगवति हाईड्रोको ४.७१ र पाल्पा सिमेन्टको मूल्य ४.५३ प्रतिशतले बढ्यो ।
यो दिन अपर हेवाखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.४५ प्रतिशतले घट्यो । यस्तै त्रिशुली जलविद्युतको सेयरमूल्य ९.२३ प्रतिशत, इमर्जिङ नेपालको ८.३८ र रसुवागढी हाईड्रोको सेयरमूल्य ८.३८ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।