काठमाण्डौ । नेपाल युवा उद्यमी मञ्च (NYEF) झापा च्याप्टरको आयोजनामा बिर्तामोडमा लगानी, पुँजी परिचालन तथा पुँजी बजारसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ।
NYEF झापा च्याप्टरका अध्यक्ष मिजास पोखरेलको नेतृत्वमा आयोजित कार्यक्रममा ४० जनाभन्दा बढी युवा उद्यमी, व्यवसायी तथा सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) का अध्यक्ष कृष्ण गिरी तथा Subiz Group का CEO अस्तित्व शर्माले लगानी, पुँजी परिचालन, पूँजीबजार तथा जोखिम व्यवस्थापनका विषयमा प्रस्तुति दिए ।
कार्यक्रममा सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) का अध्यक्ष कृष्ण गिरीले Private Equity, Venture तथा Investment Company मार्फत लगानी गर्दा ध्यान दिनुपर्ने विषयबारे जानकारी दिए । उनले कम्पनीमा लगानी गर्नुअघि व्यवसायिक सम्भावना, वित्तीय अवस्था, व्यवस्थापन, वृद्धि क्षमता तथा सम्भावित जोखिमको मूल्याङ्कन आवश्यक रहेको बताए ।
साथै, साना तथा मझौला कम्पनीले ऋण तथा स्वपुँजीमार्फत पुँजी जुटाउने उपाय, IPO जारी गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया तथा संस्थापक सेयरको प्लेसमेन्टको महत्वबारे समेत प्रकाश पारे ।
त्यस्तै, Subiz Group का CEO अस्तित्व शर्माले दोस्रो बजार तथा शेयर कारोबारमा केन्द्रित प्रस्तुति दिए। उनले सेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय विवरण, आम्दानी, नाफा, व्यवसायिक अवस्था, व्यवस्थापन तथा Future Growth सम्भावनालगायतका आधारभूत पक्षको अध्ययन गर्नुपर्नेमा जोड दिए । साथै, प्राविधिक विश्लेषण, बजारको प्रवृत्ति तथा मूल्य गतिविधिको अध्ययनलाई लगानी निर्णयसँग कसरी जोड्ने र सम्भावित जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने विषयमा समेत उनले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले वक्ताहरूसँग IPO, दोस्रो बजार, कम्पनी मूल्याङ्कन, लगानी तथा जोखिम व्यवस्थापनसम्बन्धी विभिन्न प्रश्नहरू राखेका थिए । अन्तरक्रिया तथा प्रश्नोत्तर सत्रले कार्यक्रमलाई थप व्यावहारिक र सहभागीमैत्री बनाएको आयोजकले जनाएको थियो ।
युवा उद्यमीहरूमा वित्तीय ज्ञान, लगानीसम्बन्धी सचेतना तथा व्यावसायिक निर्णय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले सहभागीहरूलाई लगानी र पुँजी व्यवस्थापनका विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको NYEF झापा च्याप्टरले जनाएको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै NYEF झापा च्याप्टरले आगामी दिनमा पनि युवा उद्यमी तथा व्यवसायीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता ज्ञानमूलक तथा व्यावसायिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।