काठमाण्डौ । चीनको तिब्बत क्षेत्रबाट रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सान्जेन जलविद्युत कम्पनी लिमिटेडअन्तर्गतका दुई जलविद्युत आयोजना बन्द भएका छन्।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले रसुवा क्षेत्रमा रहेका विभिन्न जलविद्युत केन्द्र, नेपाल विद्युत प्राधिकरणका प्रसारण लाइन तथा सबस्टेसनमा ठूलो क्षति पुर्याएको छ। क्षतिका कारण उक्त क्षेत्रबाट हुने विद्युत आपूर्ति पूर्णरूपमा बन्द भएको कम्पनीले जनाएको छ।
बाढीका कारण कम्पनीअन्तर्गत सञ्चालित सान्जेन जलविद्युत केन्द्र र सान्जेन (माथिल्लो) जलविद्युत केन्द्रका संरचनामा भने कुनै क्षति नभएको कम्पनीले स्पष्ट पारेको छ।
तर त्रिशूली–३ बी हब र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा क्षति पुगेका कारण उत्पादित विद्युत प्रसारण प्रणालीमा पठाउन (पावर इभ्याकुएसन) नसकिएको कम्पनीले जनाएको छ।
प्रसारण संरचनामा भएको क्षतिका कारण कम्पनीअन्तर्गतका दुवै जलविद्युत केन्द्र बन्द गर्नुपरेको सान्जेन जलविद्युत कम्पनीले जनाएको छ।
कम्पनीका आयोजनाका संरचनामा प्रत्यक्ष क्षति नभए पनि प्रसारण लाइनमा भएको क्षतिका कारण विद्युत उत्पादन तथा प्रसारण प्रभावित भएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।