काठमाण्डौ । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मोबाइल तथा दूरसञ्चार सेवा पुनःसञ्चालनलाई तीव्रता दिएको जनाएको छ।
कम्पनीका अनुसार भदौ ११ गते हेलिकोप्टरमार्फत कर्मचारी परिचालन गरी गोसाइँकुण्ड गाउँपालिका–६ स्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको थियो।
त्यसैगरी, भदौ १२ गते बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक टोलीहरू रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा पुनःसञ्चालन गर्न बाँकी रहेका स्थानमा खटिएका छन्। सञ्चालनमा आइसकेका टावर तथा उपकरणलाई थप भरपर्दो बनाउने कामसमेत भइरहेको कम्पनीले जनाएको छ।
रसुवामा बाढीका कारण बन्द भएको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोल्जुङ टावरलाई सञ्चालनमा ल्याएर स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिका–३ र ५ का विभिन्न क्षेत्रमा मोबाइल सेवा सुचारु गरिएको छ। साथै, स्याफ्रुबेँसी–टिमुरे राजमार्गको केही क्षेत्रमा समेत सेवा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित घेर्खु मोबाइल टावर सञ्चालनमा ल्याएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा सुचारु भएको छ।
यसै क्रममा विदुर नगरपालिका–८ स्थित तुप्चे टावर तथा गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेभन्दा माथिको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा हेलिकोप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी पुर्याएर सेवा सञ्चालनको प्रयास भइरहेको छ।
नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरू भदौ १० गतेदेखि नै रसुवा जिल्लाका नौकुण्ड, राम्चे, गोल्जुङ र धुन्चे स्टेसनमा निरन्तर खटिएर बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालन गराइरहेका छन्।
कम्पनीका अनुसार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित कुल १२० साइटमध्ये हालसम्म ८० साइटमा सेवा सुचारु भइसकेको छ।
विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमले सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीले सञ्चार सेवा पुनःस्थापनाले विपद्का बेला नागरिकलाई आफन्तसँग सम्पर्क कायम गर्न तथा राहत र उद्धारसम्बन्धी समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।