काठमाण्डौ । सेयरबजार घट्ने क्रम आजपनि जारी रहेको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७१ प्रतिशत अर्थात ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले घटेर ४४४.४३ विन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको ९३ लाख २२ हजार १८५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६४ करोड ८६ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ३ अर्ब ६४ करोड ८६ लाख बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘बजार यसैपनि घटिरहेको थियो त्यसैमाथि रसुवामा आएको बाढीका कारण सेयरबजारमा यसको प्रभाव झनै देखियो । बाढीले केही हाइड्रो आयोजनाहरुमा ठूलो क्षति पुर्याएको छ । उक्त हाइड्रोसँगै केही दिनयता बजारमा निर्जीवन बीमा क्षेत्रमा पनि ठूलो प्रभाव परेको छ ।’
उनले थपे, ‘क्षतिको मूल्यांकनपछि निर्जीवन बीमा कम्पनीहरुलाई ठूलो दायित्व बहन गर्नुपर्ने देखिन्छ, जसकारण कम्पनीहरुको लाभांश क्षमता घट्ने वा लाभांश नै दिन नसक्ने अवस्थामा हुन सक्ने आँकलनले यो दुईवटा सेक्टमा असर परेको छ । तर हाइड्रो सेक्टरका सबै कम्पनी घट्नुपर्ने अवस्था त थिएन । अहिले बाढीको कारणले नै लगानीकर्ताको मनोविज्ञान पक्षमा ठूलो धक्का पुगेको छ । जसकारण बजार झनै घटिरहेको छ । अब केही दिन बजार साइडवेजमै चलेर विस्तारै सम्हालिन सक्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह मात्रै बढ्यो । यो समूह आज ०.७० प्रतिशतले बढ्यो ।
निर्जीवन बीमा समूह आज सर्वाधिक घट्यो । यो समूह आज ५.०३ प्रतिशतले घट्यो ।
यस्तै बैंकिङ समूह १ प्रतिशत, विकास बैंक ०.९६, लघुवित्त १.४१, होटल २.४४, हाईड्रो २.९४, लगानी १.१९, जीवन बीमा १.१९, लघुवित्त १.१४, म्युचुअल फण्ड १, अन्य ३.३० र व्यापार १.११ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २६ करोड ३८ लाख बढीको सेयर कारोबार भयो । यस्तै सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख, रिलायन्स स्पिीनिङ मिल्सको १२ करोड १४ लाख, चिलिमे हाईड्रोको १२ करोड ८ लाख र एसवाई प्यानलको ११ करोड ५ लाख बढीको सेयर कारोबार भयो।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरु मध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १३.१६ प्रतिशतले बढ्यो ।
यस्तै घोराही सिमेन्टको ७.५७ प्रतिशत र पाल्पा सिमेन्टको सेयरमूल्य ४.०३ प्रतिशतले बढ्यो ।
यो दिन मैलुङखोला जलविद्युतको सेयरमूल्य सर्वाधिक अर्थात १४.९८ प्रतिशतले घट्यो । यस्तै रसुवागढी हाईड्रोको सेयरमूल्य ११.७६ प्रतिशत र चिलिमे हाईड्रोको सेयरमूल्य १०.४९ प्रतिशतले घट्यो घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।