काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा कम्पनीका सञ्चालक आशिष चन्द न्यौपाने, अन्डराइटिङ हेड दिकदर्शन नेपाल तथा कार्यकारी निर्देशक सन्तोष केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीले बाढी तथा विपद्का कारण ज्यान गुमाएका नागरिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारको राहत र पुनःस्थापनामा आवश्यक सहयोगका लागि आगामी दिनमा समेत आफ्नो तर्फबाट सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
हिमालयन रिइन्स्योरेन्सका अनुसार उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रदान गरिएको हो। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा दीर्घकालीन पुनःस्थापनाका कार्यमा समेत यस सहयोगले योगदान पुर्याउने कम्पनीको विश्वास छ।
प्राकृतिक विपद्का कारण प्रभावित समुदायको उद्धार तथा पुनःस्थापनाका लागि सरकारी निकाय र विभिन्न संघसंस्थाले प्रयास गरिरहेका बेला निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले राहत तथा पुनःस्थापनाका अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।