काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्वायर)गर्ने प्रक्रिया अघि बढाएसँगै दुवै कम्पनीको सयरमूल्यमा तीव्र गिरावट आएको छ ।
एक्विजिसनको खबर सार्वजनिक भएपछि पछिल्ला दुई कारोबार दिनमा सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयरमूल्य ह्वात्तै घटेको हो । प्रारम्भिक सम्झौता भएको दिन दुवै कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको थियो । आजपनि यो समाचार तयार पार्दासम्म सिन्धुको मूल्य १४.९९ प्रतिशत र जानकीको १३.९० प्रतिशतले घटेको छ ।
सेयरमूल्यमा आएको गिरावटसँगै लगानीकर्तामाझ तीन संस्थाबीचको एक्विजिसन तथा मर्जर प्रक्रियाबारे चासो र चिन्ता बढेको छ ।
यसैबीच, सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले सामाजिक सञ्जालमार्फत् दुई कम्पनीको सेयरमूल्यमा आएको गिरावटप्रति चिन्ता व्यक्त गरेका छन् । उनले तीन संस्थालाई एकीकृत गर्ने निर्णयले आगामी दिनमा समग्र बैंकिङ क्षेत्र, नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा लाखौँ लगानीकर्ताको विश्वासमा असर परे त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका छन् ।
अग्रवालले विगतमा भएका मर्जरका कारण समेत नकारात्मक प्रभाव परेको दाबी गर्दै हिमालय बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तीन संस्थाको मर्जरको निर्णयले भोलि समग्र बैंकिङ क्षेत्र, नेप्से र लाखौँ लगानीकर्ताको विश्वासमा असर परे भने, यसको जिम्मेवारी कसले लिन्छ ?’
अग्रवालले विगतका मर्जरबाट देखिएका नकारात्मक प्रभावलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै नियामकको लाइसेन्स वितरण तथा त्यसपछि हुने मर्जर प्रक्रियामाथि समेत प्रश्न उठाएका छन् ।
उनको प्रश्न छ, ‘पहिला लाइसेन्स बाँड्ने, पछि मर्जर गर्ने कस्तो किसिमको खेल हो यो ?’


प्रतिक्रिया
1 प्रतिक्रियाS***
Jasle kineko usko jimma hoina ta
54 मिनेट अगाडी