काठमाण्डौ। आइसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
फाइनान्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त सहयोग गरेको हो।
भोटेकोशी बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै फाइनान्सले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरूको सकुशल खोजी तथा उद्धार हुन सकोस् भन्ने कामना गर्दै फाइनान्सले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएको छ।
फाइनान्सका अनुसार विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकार, सम्बन्धित सरकारी निकाय, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकबीच सहकार्य र समन्वय आवश्यक छ।
आइसीएफसी फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा समुदायको साथमा रहँदै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।