सोमबार, भाद्र २९,२०८३ 11:26:40
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 11:26:40
Bizshala
Global IME Bank Limited

अब सेयरको घाटामा कर तिर्नु नपर्ने, नाफा–नोक्सानी समायोजनपछि खुद लाभमा मात्रै कर

लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको ठूलो राहत, एउटै आर्थिक वर्षका सबै कारोबारको हिसाब राफसाफ प्रणालीबाटै हुने

अब सेयरको घाटामा कर तिर्नु नपर्ने, नाफा–नोक्सानी समायोजनपछि खुद लाभमा मात्रै कर
New Office

काठमाण्डौ । सेयर बजारका लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको एउटा महत्वपूर्ण माग सम्बोधन हुने भएको छ। सरकारले सेयर कारोबारमा भएको नोक्सानीलाई नाफासँग समायोजन गर्न दिने र सबै कारोबारको हिसाब गर्दा खुद लाभ देखिएमा मात्रै पूँजीगत लाभकर लिने व्यवस्था गर्न लागेको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको पूँजीबजार सुधार कार्ययोजनामा यस्तो व्यवस्था समेटिएको छ। यो कार्यान्वयनमा आएपछि कुनै लगानीकर्ताले एउटा कम्पनीको सेयर बेचेर नाफा कमाए पनि अर्को कम्पनीको सेयर बिक्रीमा व्यहोरेको घाटा घटाएर बाँकी रहेको खुद नाफामा मात्रै कर तिर्नुपर्नेछ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसको अर्थ समग्र कारोबारमा घाटामा रहेका लगानीकर्ताले नाफा भएको एउटा कारोबारका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने अवस्था अन्त्य हुनेछ।

हाल सेयर बिक्रीको प्रत्येक कारोबारलाई अलग–अलग रूपमा हेरिन्छ। कुनै सेयर बिक्री गर्दा नाफा भए सम्बन्धित कारोबारबाट तत्काल पूँजीगत लाभकर कट्टा हुन्छ। तर सोही आर्थिक वर्षमा अर्को सेयर बिक्री गर्दा ठूलो नोक्सानी भए पनि त्यसलाई पहिलेको नाफासँग प्रभावकारी रूपमा समायोजन गर्ने स्वचालित व्यवस्था छैन।

यसले समग्र पोर्टफोलियोमा घाटा व्यहोरिरहेका लगानीकर्तासमेत नाफा भएको छुट्टै कारोबारमा कर तिर्न बाध्य छन्। यही अवस्थाको अन्त्य गर्दै सरकारले नाफा र घाटालाई एउटै आय वर्षभित्र समायोजन गर्ने प्रणाली विकास गर्न लागेको हो।

नयाँ व्यवस्थाअनुसार बासिन्दा प्राकृतिक व्यक्ति वा बासिन्दा निकायले कुनै आय वर्षमा सूचीकृत धितोपत्र बिक्री गर्दा व्यहोरेको नोक्सानीलाई सोही आय वर्षमा सूचीकृत धितोपत्र बिक्रीबाट भएको नाफासँग समायोजन गर्न पाउनेछन्।

सरकारले लाभकर गणना विधिमा आवश्यक सुधार गरी कारोबार तथा राफसाफ प्रणालीबाटै नाफा–घाटा समायोजन गर्ने जनाएको छ। सबै कारोबारको हिसाब गरेपछि खुद लाभ देखिएमा मात्रै निर्धारित दरमा पूँजीगत लाभकर असुल गरिनेछ। यसरी असुल गरिएको लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिइनेछ।

यस्तो हुनेछ हिसाब

मानौं, एक लगानीकर्ताले एउटा कम्पनीको सेयर बेच्दा २ लाख रुपैयाँ नाफा कमायो। अर्को कम्पनीको सेयर बिक्री गर्दा उसले १ लाख ५० हजार रुपैयाँ घाटा व्यहोर्‍यो।

हालको अभ्यासमा पहिलो कारोबारमा भएको २ लाख रुपैयाँ नाफामाथि पूँजीगत लाभकर कट्टा हुन्छ। अर्को कारोबारको १ लाख ५० हजार रुपैयाँ नोक्सानीले पहिले तिरिएको करमा तत्काल राहत दिँदैन।

प्रस्तावित व्यवस्था कार्यान्वयन भएपछि भने २ लाख रुपैयाँ नाफाबाट १ लाख ५० हजार रुपैयाँ घाटा घटाइनेछ। त्यसपछि बाँकी ५० हजार रुपैयाँ खुद लाभमा मात्रै पूँजीगत लाभकर लाग्नेछ।

यदि नाफा २ लाख र घाटा ३ लाख रुपैयाँ भएको अवस्थामा समग्र हिसाबमा १ लाख रुपैयाँ नोक्सानी देखिनेछ। यस्तो अवस्थामा लगानीकर्ताले उक्त आय वर्षका कारोबारमा पूँजीगत लाभकर तिर्नुपर्नेछैन।

लगानीकर्ताका लागि किन महत्वपूर्ण ?

सेयर कारोबारमा नाफा र घाटा दुवै स्वाभाविक हुन्छन्। तर नाफामा तत्काल कर लगाउने र घाटालाई बेवास्ता गर्ने व्यवस्थाले लगानीकर्तामाथि करको असन्तुलित भार पर्दै आएको थियो। प्रस्तावित प्रणालीले वास्तविक आम्दानीको आधारमा मात्रै कर निर्धारण गर्नेछ।

यसले कर प्रणालीलाई बढी न्यायोचित र व्यावहारिक बनाउनुका साथै बारम्बार कारोबार गर्ने लगानीकर्ता तथा ठूलो पोर्टफोलियो व्यवस्थापन गर्ने संस्थालाई विशेष राहत दिनेछ। बजार घट्दा घाटा व्यहोरिरहेका लगानीकर्ताले समेत छुट्टाछुट्टै नाफामूलक कारोबारमा कर तिर्नुपर्ने बाध्यता हट्नेछ।

कारोबार तथा राफसाफ प्रणालीबाटै नाफा–घाटा समायोजन गरिने भएकाले प्रक्रिया स्वचालित र पारदर्शी हुने अपेक्षा गरिएको छ। लगानीकर्ताले प्रत्येक कारोबारको हिसाब छुट्टै मिलाउनुपर्ने झन्झटसमेत कम हुनेछ।

यद्यपि, कार्ययोजनामा यो व्यवस्था अध्ययनसहित लाभकर गणना विधि सुधार गरेर लागू गर्ने उल्लेख छ। त्यसैले आवश्यक कानुनी संशोधन, कार्यविधि र प्राविधिक प्रणाली निर्माण भएपछि मात्रै लगानीकर्ताले यसको व्यावहारिक लाभ पाउनेछन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.