काठमाण्डौ । मंगलबारको कारोबारमा सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८७ प्रतिशत अर्थात ४८.५७ अंकले बढेर २ हजार ६३३.६२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले बढेर ४६७.४५ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब २९ करोड बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ६८ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘हिजो मात्रै अर्थमन्त्रीले सार्वजनिक गरेको पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले गर्दा लगानीकर्ताहरुमा आज उत्साह थपिएको छ, त्यसैको प्रभावले बजारमा हरियाली छाएको हो । तर नीति ल्याउँदैमा बजार माथि उकासिन्छ भन्ने हुँदैन, कार्यान्वयनको पाटो कस्तो हुन्छ त्यसमा भर पर्छ । साथै केही नीतिहरु मात्रै नयाँ आएका छन् । नत्र एनआरएनलाई बजारमा प्रवेश, मार्जिन लेन्डिङ जस्ता कुराहरु पुरानै हुन् जुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।’
उनले थपे, ‘यसबाहेक बैंकहरुको सेयर कारोबार र नाफामा मात्रै कर लाग्ने विषय नयाँ छन्, यदि यो कुराहरु कार्यान्वयन भएमा बजार केही हदसम्म माथि जान सक्छ । अहिले मुख्यगरी ठूला लगानीकर्ताको हितमा नीति आउनु आवश्यक छ । बजारमा ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ताको हित हुनेगरी पोलिसी कार्यान्वयन हुने हो भने मात्रै बजारले लय लिन सक्छ । नत्र बजार घट्न बाट वा प्यानिक सेल मात्रै रोक्ने देखिन्छ अपेक्षा गरेबमोजिम बढ्ने सम्भावना रहँदैन ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छायो । आज निर्जीवन बीमा समूह सर्वाधिक बढ्यो । यो समूह आज २.८२ प्रतिशतले बढ्यो । यस्तै यस्तै बैंकिङ समूह १.९०, विकास बैंक १.७६ प्रतिशत, फाइनान्स २.२३, होटल १.४२, हाईड्रो १.८४, लगानी २.५२, जीवन बीमा २.५९, उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त १.७५, म्युचुअल फण्ड १, अन्य २.१२ र व्यापार ०.९२ प्रतिशतले बढ्यो।
सर्वाधिक कारोबार हुने कम्पनी
आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३२ करोड ७० लाख बढीको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्टको ३१ करोड ५६ लाख, अपि पावरको २८ करोड ४४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड २९ लाख र लिबर्टी इनर्जीको २७ करोड ३३ लाख बढीको सेयर कारोबार भयो।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरु मध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज धौलोगिरी लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै सिन्धु विकास बैंकको सेयरमूल्य ११.०३ प्रतिशत, मल्टीपर्सस फाइनान्सको ९.७३, जानकी फाइनान्सको ८.०६ र मिडसोलु हाईड्रोको सेयरमूल्य ६.६७ प्रतिशतले बढ्यो ।
यो दिन बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य सर्वाधिक अर्थात २.९७ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।