तिर्नेकाठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ ।
पर्वतमा निर्माणाधीन १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीलाई ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न आयोगले पूर्वस्वीकृति दिएको हो ।
कम्पनीले यसअघि कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । तर, एघारौँ वार्षिक साधारण सभाले उक्त अनुपात संशोधन गर्दै १ः०.६५ कायम गर्ने निर्णय गरेको थियो ।
कम्पनीका अनुसार हकप्रद सेयरबाट संकलन हुने रकम युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरिरहेको ५० मेगावाटको मेवा खोला जलविद्युत आयोजनाका लागि लिएको बैंक कर्जा भुक्तानीमा प्रयोग गरिनेछ ।
कम्पनीले उक्त आयोजनामा लगानी गर्न प्राइम कमर्सियल बैंकबाट रु. ६७ करोड ५० लाख ऋण लिएको र थप रु. १२ करोड ५० लाख कर्जा समेत गरी कुल रु. ८० करोड ऋण रहेको जनाएको छ ।
कम्पनीको हाल कायम चुक्ता पुँजी रु. १ अर्ब २३ करोड ५ लाख रहेको छ । सोही चुक्ता पूँजीका आधारमा रु. ६७ करोड ५० लाख बराबरको ६७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागिएको हो । कम्पनीले १ः०.५४८ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति पाएको हो ।
कम्पनीको अधिकृत पूँजी रु. २ अर्ब ५० करोड र जारी पुँजी रु. २ अर्ब ३ करोड ३ लाख २५ हजार रहेको छ । अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्रै हकप्रद सेयर निष्कासन गर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।