काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको नाफा ६५.१६ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ५३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म २५ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७२.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ६९ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।
कम्पनीको प्रशासनिक खर्च १ करोड ३८ लाख रुपैयाँले ऋणात्मक, विद्युत उत्पादन खर्च २ करोड ३६ लाख रुपैयाँले ऋणात्मक र वित्तीय लागत पनि १८ करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
कम्पनीको जगेडा कोष तथा सञ्चित नाफा २७ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २१ करोड ४३ लाख र कुल चालु दायित्व ४५ करोड ३० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.६८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १००.२६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३११.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४३.१३ गुणा र तरलता अनुपात ०.४७ प्रतिशत कायम भएको छ ।