काठमाण्डौ । प्रतिनिधिसभाको बैठक सोमबार बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकको प्रारम्भमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सभामुखले सदनसमक्ष पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
त्यसैगरी, प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
उक्त प्रस्तावमाथि छलफलपछि मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत तय गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।