सोमबार, आश्विन ५,२०८३ 07:07:50
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 07:07:50
Bizshala
Global IME Bank Limited

एनआरएन भित्र्याउने संघारमा नेप्सेको साइबर सुरक्षा उदाङ्गो !

लगानीकर्ता सोध्छन्- 'हाम्रो डेटा सुरक्षित छ ? कि पोर्टफोलियो नै खालि भइसक्यो ?'

एनआरएन भित्र्याउने संघारमा नेप्सेको साइबर सुरक्षा उदाङ्गो !
New Office

काठमाण्डौ । सरकारले नेपाली पूँजीबजारको दायरा विस्तार गर्दै गैरआवासीय नेपाली (एनआरएन)लाई दोस्रो बजारमा भित्र्याउने तयारी गरिरहेको छ। तर, यही बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्राविधिक प्रणालीमा देखिएको गम्भीर समस्याले नेपालको पूँजीबजारको विश्वसनीयता, साइबर सुरक्षा र पूर्वाधारमाथि नै प्रश्न उठाएको छ।

सोमबार नेप्सेको प्रणाली तथा सेयर कारोबारसँग सम्बन्धित सर्भरमा प्राविधिक समस्या देखिएपछि नियमित कारोबार नै स्थगित गर्नुपरेको थियो। कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति पुग्न सक्ने अवस्था देखिएको भन्दै बजार बन्द गरिएपछि लाखौँ लगानीकर्ता प्रत्यक्ष प्रभावित भए।

कारोबार नै रोक्नुपर्ने गरी समस्या उत्पन्न भएपछि लगानीकर्ताहरू हतोत्साहित बनेका छन्। उनीहरूले आफूहरूको व्यक्तिगत विवरण, कारोबारसम्बन्धी सूचना, बैंक तथा हितग्राही खातासँग जोडिएका विवरण र समग्र डेटा कति सुरक्षित छन् भन्ने गम्भीर प्रश्न उठाएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेको कारोबार प्रणालीमा समस्या देखिएको यो पहिलो घटना होइन। पटक–पटक प्रणाली अवरुद्ध हुने, टीएमएस नचल्ने र प्राविधिक समस्या देखिने घटनाले नेपालको पूँजीबजार पुरानै र कमजोर प्रविधिको भरमा सञ्चालन भइरहेको आरोपलाई थप बल दिएको छ।

एकातिर सरकारले एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराएर बजारमा नयाँ लगानी र तरलता भित्र्याउने तयारी गरिरहेको छ। अर्कोतर्फ, स्वदेशी लगानीकर्ताले प्रयोग गरिरहेको कारोबार प्रणालीकै निरन्तरता, विश्वसनीयता र सुरक्षामाथि प्रश्न उठेको छ।

एनआरएनले विदेशबाटै नेपालको दोस्रो बजारमा कारोबार गर्नुपर्ने हुन्छ। त्यसका लागि चौबीसै घण्टा सुरक्षित रहने पूर्वाधार, डेटा संरक्षण, विश्वसनीय पहिचान प्रमाणीकरण, प्रभावकारी साइबर सुरक्षा र निर्बाध कारोबार प्रणाली आवश्यक पर्छ। तर, कारोबारकै समयमा प्रणाली अवरुद्ध भएर पूरै बजार बन्द गर्नुपर्ने अवस्थाले सम्भावित अन्तर्राष्ट्रिय लगानीकर्तासम्म नकारात्मक सन्देश प्रवाह गरेको लगानीकर्ताहरूको भनाइ छ।

उनीहरूले प्रश्न उठाएका छन्—स्वदेशी लगानीकर्ताकै विवरण सुरक्षित छ भन्ने विश्वास दिलाउन नसक्ने प्रणालीले विदेशमा रहेका एनआरएनको लगानी र डेटा कसरी सुरक्षित गर्छ?

‘ह्याक भयो भने कमजोरी हाम्रै हो’

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले लगानीकर्ताले प्रयोग गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) र नेप्सेको समग्र प्राविधिक प्रणालीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएका छन्।

लगानीकर्ताले प्रयोग गर्ने टीएमएस सुरक्षित नभएको विषयमा आफूहरूले पटक–पटक नेप्से र नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित निकायले पर्याप्त चासो नदेखाएको उनले बताए।

‘हामीले नेप्सेको समग्र प्रणाली र लगानीकर्ताले प्रयोग गर्ने टीएमएसको सुरक्षाबारे बारम्बार नेप्से र सेबोनको ध्यानाकर्षण गराउँदै आएका छौँ,’ उनले भने, ‘तर सम्बन्धित निकायले चासो देखाएनन्। पूँजीबजारको प्रणाली अत्यन्त संवेदनशील विषय हो। कुनै समूहले हाम्रो प्रणाली ह्याक गर्न सक्छ भने कमजोरी हाम्रै हो भन्ने बुझ्नुपर्छ।’

नेप्सेको प्रणालीमा बारम्बार देखिने समस्याले लगानीकर्ताको डेटा सुरक्षामाथि नै शंका उत्पन्न गराएको उनको भनाइ छ।

सरकारले एनआरएनलाई दोस्रो बजारमा ल्याउने तयारी गरिरहेको अवस्थामा नेप्सेको प्रणालीमा देखिएको कमजोरीले अन्तर्राष्ट्रिय स्तरमै गलत सन्देश जाने उनले बताए।

‘सरकारले एनआरएनलाई दोस्रो बजारमा ल्याउने तयारी गरिरहेको छ। तर, नेप्सेको यस्तो प्रणालीले उनीहरूसम्म पनि नकारात्मक सन्देश पुर्‍याउँछ,’ रौनियारले भने, ‘अहिले स्वदेशी लगानीकर्ताकै विवरण सुरक्षित छैन भन्ने अवस्था देखियो भने एनआरएनलाई भित्र्याएर नेप्सेले उनीहरूको डेटा र लगानीको सुरक्षा कसरी गर्छ?’

उनले टीएमएसलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित, भरपर्दो र विश्वसनीय प्रणालीका रूपमा विकास गर्न माग गरे।

‘यसरी नै जोखिम देखिरहने हो र भोलि लगानीकर्ताको सम्पूर्ण विवरण ह्याक भयो भने जिम्मेवारी कसले लिन्छ?’ उनले प्रश्न गरे, ‘सेबोन, नेप्से र अर्थ मन्त्रालयले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ। ठूलो क्षति भएपछि कदम चाल्नुभन्दा अहिले नै सतर्क हुनु आवश्यक छ।’

‘भोलि पोर्टफोलियो नै गायब हुने अवस्था नआओस्’

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले नेप्सेको कमजोर र पुरानो प्रणालीका कारण आमलगानीकर्ताको बजारप्रतिको विश्वास घट्दै गएको बताए।

‘नेप्सेमा पटक–पटक देखिने समस्याले हाम्रो प्रणाली कति कमजोर छ भन्ने स्पष्ट पारेको छ,’ उनले भने, ‘पूँजीबजारजस्तो संवेदनशील क्षेत्रमा बारम्बार समस्या आउँदा लगानीप्रतिको विश्वास कमजोर हुन्छ। नेप्सेले धेरै पहिले नै आफ्नो प्रणाली स्तरोन्नति गर्नुपर्ने थियो। अब कुन बेला लगानीकर्ताको डेटा ह्याक हुने हो भन्ने डर उत्पन्न भएको छ।’

यस्ता समस्या निरन्तर दोहोरिए लगानीकर्ताको पोर्टफोलियोसमेत जोखिममा पर्न सक्ने उनको आशंका छ।

‘प्रणाली बलियो नभएकै कारण ठूलो संख्याका ब्रोकर र लगानीकर्ताको डेटा सुरक्षामाथि प्रश्न उठेको छ,’ पाण्डेले भने, ‘कुनै समूहले सजिलै ह्याक गर्न सक्ने अवस्था छ भने प्रणाली तत्काल स्तरोन्नति गर्नुपर्छ। आज देखिएको साइबर आक्रमण वा ह्याकिङ प्रयासबारे तुरुन्त छानबिन भएन भने भोलि लगानीकर्ताको पोर्टफोलियो नै गायब हुने अवस्था आउन सक्छ।’

उनले नेपालको पूँजीबजारमा प्रयोग भइरहेको प्राविधिक प्रणाली कमजोर रहेको दाबी गर्दै तत्काल सुधार नगरे दीर्घकालमा समग्र बजारमै गम्भीर असर पर्ने चेतावनी दिए।

‘पूँजीबजारप्रतिको विश्वास प्रणालीको विश्वसनीयतासँग जोडिएको हुन्छ,’ उनले भने, ‘अहिलेकै अवस्था कायम रह्यो भने स्वदेशी लगानीकर्ता मात्र होइन, दोस्रो बजारमा ल्याउने तयारी गरिएका गैरआवासीय नेपालीसम्म पनि नकारात्मक सन्देश पुग्छ।’

‘ह्याक भएको हो कि गराइएको हो?’

नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसीले नेप्सेको कारोबार प्रणालीबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले सुनुवाइ नगरेको गुनासो गरे।

‘लगानीकर्ताले यस विषयमा पटक–पटक सम्बन्धित निकायलाई सचेत गराएका थिए,’ उनले भने, ‘सुनुवाइ नहुँदा आज ह्याकिङको समस्या उत्पन्न भएको छ। सरकारसँग समाधान गर्नुपर्ने धेरै विषय होलान्, तर पूँजीबजारको प्रणाली अत्यन्त संवेदनशील भएकाले यसमा सरकार गम्भीर हुनैपर्छ।’

केसीले लगानीकर्ताको सम्पूर्ण विवरण सुरक्षित हुनुपर्नेमा जोड दिए। कारोबार प्रणाली प्रयोग गरेबापत शुल्क तिर्न तयार भए पनि लगानीकर्तालाई सुरक्षित, भरपर्दो र पारदर्शी सेवा चाहिएको उनको भनाइ छ।

‘हामीलाई कुनै पनि सेवा निःशुल्क चाहिएको छैन,’ उनले भने, ‘तर कारोबार प्रणाली सुरक्षित र शुद्ध हुनुपर्छ। पूँजीबजारको प्रणाली कुनै दलाल वा समूहको नियन्त्रणमा नभई सरकारको प्रत्यक्ष मातहत र प्रभावकारी निगरानीमा हुनुपर्छ।’

उनले सोमबार देखिएको साइबर समस्याबारे निष्पक्ष र प्राविधिक छानबिन गर्नसमेत माग गरे।

‘यो साँच्चिकै ह्याक भएको हो वा गराइएको हो? यसको समेत छानबिन हुनुपर्छ,’ केसीले भने, ‘यो अत्यन्त गम्भीर विषय हो। यस्ता घटनाले समग्र पूँजीबजारमा दीर्घकालीन असर पार्न सक्छ।’

सोमबारको घटनाले एउटा गम्भीर प्रश्न सतहमा ल्याएको छ -प्रविधिमाथि भरोसा स्थापित नगरी एनआरएनलाई दोस्रो बजारमा भित्र्याउने सरकारी योजना कति व्यावहारिक हुन्छ ?

एनआरएनलाई प्रवेश गराउने घोषणा मात्रले बजार अन्तर्राष्ट्रिय बन्दैन। त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको सुरक्षित प्रणाली, स्पष्ट डेटा सुरक्षा मापदण्ड, नियमित साइबर परीक्षण, प्रभावकारी विपद् पुनःस्थापना संयन्त्र र जिम्मेवारी वहन गर्ने संरचना आवश्यक हुन्छ। अन्यथा, एनआरएन भित्र्याउने योजना लगानी आकर्षित गर्ने अवसरभन्दा नेपालको कमजोर बजार पूर्वाधार अन्तर्राष्ट्रिय रूपमा उजागर गर्ने माध्यम बन्न सक्ने जोखिम देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.