मंगलवार, आश्विन ६,२०८३ 01:57:09
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 01:57:09
Bizshala
Global IME Bank Limited

लकइनको मुखैमा मिड सोलुको ‘बोनस अस्त्र’,मूल्य उचाल्ने रणनीति ?

लकइनको मुखैमा मिड सोलुको ‘बोनस अस्त्र’,मूल्य उचाल्ने रणनीति ?
New Office

काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाखभन्दा बढी कित्ता सेयरको लकइन अवधि खुल्न अब चार दिन मात्रै बाँकी रहँदा कम्पनीले आकर्षक बोनस सेयर घोषणा गरेको छ। लाभांश घोषणा भएसँगै कम्पनीको सेयरमूल्यसमेत सर्किट लेभलसम्म बढेपछि बजारमा यसको ‘टाइमिङ’लाई लिएर लगानीकर्ताबीच बहस सुरु भएको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

लाभांश घोषणा सार्वजनिक भएसँगै कम्पनीको सेयरमा खरिद चाप बढेको छ। मंगलबार कारोबारका क्रममा मिड सोलुको सेयरमूल्य १४.९९ प्रतिशतसम्म बढ्दै सर्किट लेभलमा पुगेको छ।

यहीबीच कम्पनीको ठूलो परिमाणको सेयरमाथि रहेको लकइन अवधि खुल्न लागेको विषयले बजारको ध्यान खिचेको छ।

मिड सोलु हाइड्रोपावरको संस्थापकतर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ८ लाख ६० हजार ६६० कित्ता र कर्मचारीतर्फको १७ हजार २१३ कित्ता गरी कुल ७७ लाख ६३ हजार १५३ कित्ता सेयरको लकइन अवधि असोज १० गतेपछि समाप्त हुँदैछ।

यसको अर्थ हालसम्म बिक्रीमा आउन नपाएको ठूलो परिमाणको सेयर लकइन सकिएपछि नियमानुसार दोस्रो बजारमा बिक्री गर्न सकिने बाटो खुल्नेछ। यद्यपि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको सेयर भने प्रचलित व्यवस्थाअनुसार रोक्का रहने कम्पनीको सूचनामा उल्लेख छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लकइनअघि मूल्य उचालिएको हो ?

लकइन अवधि सकिनै लाग्दा लाभांश घोषणा हुनु र त्यसलगत्तै सेयरमूल्य सर्किट लेभलसम्म बढ्नुलाई केही लगानीकर्ताले शंकाको दृष्टिले हेर्न थालेका छन्।

ठूलो संख्यामा संस्थापक सेयर कारोबारयोग्य बन्नुअघि सकारात्मक सूचना सार्वजनिक हुनु र मूल्य तीव्र रूपमा बढ्नु संयोग मात्रै हो वा यसका पछाडि अरू कुनै रणनीति छ भन्ने प्रश्न उनीहरूले उठाएका छन्।

केही लगानीकर्ताको आरोप छ, विभिन्न कम्पनीमा लकइन खुल्नुअघि आकर्षक सूचना प्रवाह गरी सेयरमूल्य माथि लैजाने र त्यसपछि संस्थापक वा ठूला सेयरधनीले आफ्नो सेयर बिक्री गर्ने प्रवृत्ति बढ्दै गए बजारको स्वस्थतामाथि असर पर्न सक्छ।

१५ प्रतिशत बोनसको ‘टाइमिङ’ किन चर्चामा ?

चासो बढ्नुको अर्को कारण कम्पनीले अघिल्लो आर्थिक वर्षमा पनि समान दरको लाभांश दिएको तथ्य हो। मिड सोलुले आर्थिक वर्ष २०८१/८२ का लागि पनि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिएको थियो। यस वर्ष पनि त्यही दरको बोनस प्रस्ताव गरिएको छ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १२ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १३ करोड २२ लाख रुपैयाँ थियो। अर्थात् कम्पनीको वार्षिक नाफा करिब ५.३ प्रतिशतले घटेको देखिन्छ।

यसरी नाफा केही घटेको अवस्थामा पनि १५ प्रतिशत बोनसलाई निरन्तरता दिइएको र त्यसको घोषणा ठूलो परिमाणको संस्थापक सेयरको लकइन खुल्नु केही दिनअघि मात्रै सार्वजनिक भएको कारण बजारमा यसको टाइमिङमाथि चासो बढेको हो।

अब असोज १० गतेपछि लकइन खुल्दा संस्थापक तथा अन्य योग्य सेयरधनीबाट वास्तविक रूपमा कति सेयर बिक्रीका लागि आउँछ भन्ने विषय महत्वपूर्ण हुनेछ।

तर ठूलो परिमाणको सेयर लकइनमुक्त हुनुअघि आएको लाभांश घोषणा र त्यसपछि देखिएको तीव्र मूल्यवृद्धिले मिड सोलुलाई आगामी केही कारोबार दिन बजारको विशेष निगरानीमा भने राख्ने देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.