काठमाण्डौ । विनाशकारी बाढीका कारण निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत आयोजनामा उल्लेख्य क्षति पुगेको छ। त्रिशूली जलविद्युत कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ३७ मेगावाट क्षमताको उक्त आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका–४ अन्तर्गत पर्ने क्षेत्रमा बाढीका कारण प्रभावित भएको हो।
कम्पनीका अनुसार बाढीका कारण आयोजनाको निर्माणस्थलमा रहेका कार्यालय तथा आवासीय भवनमा क्षति पुगेको छ। बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक तथा संरचनामा क्षति पुग्नुका साथै निर्माणस्थलमा राखिएका केही सामान तथा उपकरणसमेत बगाएको जनाइएको छ। आयोजनास्थलमा रहेका सवारीसाधन तथा अन्य उपकरणमा पनि क्षति पुगेको कम्पनीले जनाएको छ।
बाढीपछि निर्माणाधीन आयोजनाका विभिन्न संरचनाको अवस्था बुझ्न नेपाली सेना तथा कम्पनीका प्राविधिक टोलीबाट खोजी तथा उद्धारसँगै आवश्यक निरीक्षण भइरहेको बताइएको छ। घटनापछि आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको अवस्थाबारे जानकारी संकलन गर्ने कामसमेत भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आयोजनामा कार्यरत करार कर्मचारी २१ जना, परिवारसहित ६ जना तथा परामर्शदाताका १६ जनासहित अन्य निर्माण कम्पनीका कर्मचारी र कामदार प्रभावित भएका छन्। ठेकेदार कम्पनी फेवा कन्स्ट्रक्सन लिमिटेडका १३३ जनासहित जम्मा १८५ जना सम्पर्कविहीन रहेको र तीमध्ये केहीको मात्र शव प्राप्त भएको उल्लेख गरिएको छ। बाँकी कर्मचारी तथा कामदारको अवस्था अझै यकिन हुन नसकेको कम्पनीले जनाएको छ।
बाढीबाट भएको क्षतिका कारण आयोजनाको निर्माण कार्यसमेत प्रभावित भएको छ। कम्पनीले निर्माणाधीन आयोजनामा गरिएको कन्टाक्टर अल रिस्क तथा इरेक्सन ल रिस्क बीमा, सवारीसाधन बीमा, भवन बीमा तथा कर्मचारीको सामूहिक दुर्घटना बीमा चालु अवस्थामा रहेको जानकारीसमेत दिएको छ।
कम्पनीले बाढीबाट भएको क्षतिको विस्तृत मूल्यांकन तथा प्रभावित कर्मचारी र कामदारको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।