जीवन बीमा क्षेत्रमा बीमालेख सरेण्डर गर्नेको संख्या घटे पनि त्यसबापत बाहिरिने रकम भने बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमै जीवन बीमा कम्पनीहरूबाट १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ बराबरको बीमालेख सरेण्डर भएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सरेण्डर रकम ५.०७ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको साउनमा १ अर्ब २२ करोड रुपैयाँ बराबरका बीमालेख सरेण्डर भएका थिए।
रकम बढे पनि सरेण्डर भएका बीमालेखको संख्यामा भने सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउनमा ७ हजार ४११ वटा बीमालेख सरेण्डर भएका छन्। गत वर्षको सोही अवधिमा यस्तो संख्या ७ हजार ६६६ थियो। यस आधारमा सरेण्डर भएका बीमालेखको संख्या ३.३३ प्रतिशतले घटेको छ।
यसले बीमालेख सरेण्डर गर्ने ग्राहकको संख्या घटे पनि तुलनात्मक रूपमा ठूलो रकमका पोलिसी सरेण्डर भएको संकेत गर्छ। उपलब्ध तथ्यांकअनुसार एउटा सरेण्डर भएको बीमालेखबाट औसतमा करिब १ लाख ७६ हजार रुपैयाँ बाहिरिएको देखिन्छ। गत वर्ष यस्तो औसत करिब १ लाख ५९ हजार रुपैयाँ थियो।
व्यतित बीमालेखको रकम पनि बढ्यो
सरेण्डरसँगै समयमा नवीकरण नभई व्यतित अवस्थामा पुगेका बीमालेखको रकम पनि बढेको छ। साउनसम्ममा व्यतित बीमालेखसँग सम्बन्धित रकम ३९ अर्ब १४ करोड ६४ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३७ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ थियो। यस आधारमा नवीकरण नभएको बीमालेख रकम ४.६७ प्रतिशतले बढेको छ।
तर, व्यतित बीमालेखको संख्यामा भने उल्लेख्य सुधार देखिएको छ। गत वर्ष साउनसम्म १२ लाख २९ हजार ४४६ वटा बीमालेख व्यतित रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म आइपुग्दा यस्तो संख्या १६.५८ प्रतिशतले घटेर १० लाख २५ हजार ५४८ वटा कायम भएको छ।
यसरी सरेण्डर र व्यतित दुवै बीमालेखको संख्या घट्दा पनि त्यससँग जोडिएको रकम भने बढेको तथ्यांकले देखाएको छ। यसले थोरै संख्याका तर तुलनात्मक रूपमा ठूलो आकारका बीमालेख सरेण्डर वा व्यतित भइरहेको अवस्था संकेत गर्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।