काठमाण्डौ । बैंकमा सेयर धितो राखेर कर्जा लिने परम्परागत अभ्यासको विकल्पका रूपमा अब ब्रोकर कम्पनीहरू नै लगानीकर्तालाई धमाधम ऋण दिन थालेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हालसम्म ११ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबार सुरु गरिसकेका छन्, जबकि करिब ५० थप ब्रोकर कम्पनी पनि यो सेवा सुरु गर्ने प्रक्रियामा छन् ।
लगानीकर्ताले खरिद गर्न चाहेको सेयरको ३० प्रतिशत रकम आफैं लगानी गरेर बाँकी ७० प्रतिशतसम्म ब्रोकरबाट सापटी लिएर धितोपत्र खरिद गर्न सक्ने व्यवस्था छ ।
हाल मार्जिन कारोबार सुरु गर्ने ब्रोकरहरूमा नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेस्टमेन्ट, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज, नेपाल स्टक हाउस, दक्षिणकाली इन्भेस्टमेन्ट, भिजन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, सनी सेक्युरिटिज र कलश स्टक मार्केट छन् ।
नेप्सेका अनुसार थप ५० ब्रोकर कम्पनीले सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढाएका छन्, जसमध्ये करिब एक दर्जनले मार्जिन कारोबारका लागि अनुमति नै पाइसकेका छन् ।
सेयर २०% घटे ‘मार्जिन कल’
मार्जिन कारोबारमा लगानीकर्ता र ब्रोकर दुवैको जोखिम व्यवस्थापनका लागि ‘मेन्टेनेन्स मार्जिन’को व्यवस्था गरिएको छ ।
निर्देशिकाअनुसार बजार अवस्था, ग्राहकको जोखिम र खरिद गरिएको धितोपत्रको जोखिमका आधारमा ब्रोकरले थप मार्जिन माग गर्न सक्छ ।
मार्जिन अवधिभर लगानीकर्ताले न्यूनतम २० प्रतिशत मेन्टेनेन्स मार्जिन कायम राख्नुपर्ने व्यवस्था छ ।
उदाहरणका लागि, १० लाख रुपैयाँको सेयर खरिद गर्दा लगानीकर्ताले ३ लाख रुपैयाँ र ब्रोकरले ७ लाख रुपैयाँ लगानी गरेको छ भने सेयरको मूल्य घटेर ८ लाख रुपैयाँमा झर्दा लगानीकर्ताको वास्तविक हिस्सेदारी १ लाख रुपैयाँ मात्र बाँकी हुन्छ ।
तर ८ लाखको २० प्रतिशत अर्थात् १ लाख ६० हजार रुपैयाँ मार्जिन कायम हुनुपर्ने भएकाले लगानीकर्ताले थप ६० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । त्यस्तो रकम थप गर्न नसके ब्रोकर कम्पनीले सेयर बिक्री गरी आफ्नो रकम असुल गर्न सक्ने व्यवस्था छ ।
ब्याज ७–१०%, कतिपयले सेवा शुल्क पनि लिन्छन्
मार्जिन लेन्डिङको ब्याजदर ब्रोकर कम्पनीअनुसार फरक छ । हाल अधिकांश कम्पनीले वार्षिक ७ देखि १० प्रतिशतसम्म ब्याज लिइरहेका छन् ।
कतिपय ब्रोकरले ऋण रकमको करिब ०.२५ प्रतिशत सेवा शुल्क समेत लिने गरेका छन् । तर केही कम्पनीले ब्याज मात्र लिएका छन् ।
जुनसुकै सेयर मार्जिनबाट किन्न नपाइने
मार्जिनबाट प्राप्त रकम प्रयोग गरी बजारमा सूचीकृत जुनसुकै कम्पनीको सेयर खरिद गर्न पाइँदैन ।
नेप्सेले तोकेको मापदण्ड पूरा गरेका कम्पनीको धितोपत्र मात्रै मार्जिन कारोबारका लागि योग्य हुन्छ ।
योग्य कम्पनी हुन कम्तीमा २५ लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण भएको, नेटवर्थ चुक्ता पूँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्ला तीन वर्षमध्ये कम्तीमा दुई वर्ष नाफामा रहेको र सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्छ ।
हाल मार्जिन कारोबारका लागि योग्य कम्पनीमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स कम्पनी, २८ हाइड्रोपावर, १२ जीवन बीमा, ११ निर्जीवन बीमा र १७ लघुवित्त संस्था छन् ।
यसैगरी ६ लगानी कम्पनी, ३ होटल तथा पर्यटन क्षेत्रका कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, एक व्यापार समूह र दुई अन्य समूहका कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य सूचीमा छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।