काठमाडौँ। बागलुङको ताराखोला गाउँपालिकामा रहेको सयपत्री हाइड्रोपावर लिमिटेडको २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ। असोज ९ गते आएको बाढीले आयोजनाको संरचना र विद्युत प्रसारण लाइनमा क्षति पुर्याएपछि उत्पादन रोकिएको कम्पनीले जनाएको छ।
कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल र तारमा क्षति पुगेको छ। त्यसका कारण असोज ९ गते राति ११ बजेपछि विद्युत उत्पादन तथा प्रसारण बन्द भएको हो।
कम्पनीका अनुसार असोज १० गते बेलुकी ११ बजेपछि ताराखोला गाउँपालिकामा रहेका सञ्चार टावरको विद्युत आपूर्ति पनि अवरुद्ध भयो। सञ्चार सम्पर्क विच्छेद हुँदा आयोजनास्थलका कर्मचारीसँग सम्पर्क हुन नसकेको र त्यहाँ भएको थप क्षतिको विवरण प्राप्त नभएको कम्पनीले उल्लेख गरेको छ।
कर्मचारीसँग सम्पर्क स्थापित भएपछि आयोजनाको वास्तविक अवस्था र थप क्षतिको विवरण सार्वजनिक गर्ने कम्पनीले जनाएको छ। हाल जानकारीमा आएको ३३ केभी प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा भएको क्षति चालू बीमा व्यवस्थाअन्तर्गत बीमित रहेको व्यहोरा पनि कम्पनीले नेप्सेलाई जानकारी गराएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।