सोमबार, आश्विन १२,२०८३ 06:59:23
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 06:59:23
Bizshala
Global IME Bank Limited

GROUND ZERO : लकइनको डर, लाभांशको लोभ र सस्ता बैंकको खोजी !

Bizshala
GROUND ZERO : लकइनको डर, लाभांशको लोभ र सस्ता बैंकको खोजी !
New Office

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा ठूलो उतारचढाव देखिएको छैन। बजार स–सानो अंकको घटबढमै सीमित हुँदा लगानीकर्ताको ध्यान तत्कालीन क्यापिटल गेनभन्दा लाभांश दिने कम्पनीतर्फ मोडिन थालेको छ।

अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डले पूँजीबजार सुधारका लागि विभिन्न नीतिगत पहल गरिरहेका छन्। तर ठूला लगानीकर्ता सक्रिय नहुँदा बजारले बलियो लय समाउन सकेको छैन। अर्कोतर्फ चाडपर्वको सिजन सुरु भएसँगै कतिपय लगानीकर्ता थोरै भए पनि नाफा बुक गरेर दशैं खर्च जोहो गर्ने मनस्थितिमा देखिएका छन्।

बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ रिपोर्टिङका लागि सोमबार हामी नयाँ बानेश्वर र अनामनगर आसपासका केही ब्रोकर हाउस पुगेका थियौं।

ब्रोकर हाउसमा लगानीकर्ताको चहलपहल केही बढेको देखिए पनि कारोबार रकम र नेप्से परिसूचकमा उल्लेख्य उत्साह देखिएको थिएन। यस्तो अवस्थामा लगानीकर्ता क्यापिटल गेन कम भए पनि लाभांश दिने कम्पनीबाट प्रतिफल सुरक्षित गर्ने रणनीतितर्फ केन्द्रित देखिए।

बजार सुस्त, लाभांशको खोजीमा लगानीकर्ता

सबैभन्दा पहिले हामी नयाँ बानेश्वरस्थित नागरिक स्टक डिलर पुग्यौं। त्यतिबेला नेप्से परिसूचक सामान्य अंकले घटिरहेको थियो भने लगानीकर्ताको उपस्थिति विस्तारै बाक्लिँदै थियो।

अधिकांश लगानीकर्ता आ–आफ्नो मोबाइलमा बजार नियालिरहेका थिए। धेरैको नजर लाभांश घोषणा गरिसकेका तर बुकक्लोज हुन बाँकी कम्पनीमा थियो।

अगाडि बसेका एक लगानीकर्ताले भने, ‘दशैंअघि बुकक्लोज हुन बाँकी भएका कम्पनी किनिहाल्नुपर्छ, नत्र अन्तिमतिर फेरि कित्ता नै नपाइएला।’

उनले थपे, ‘सिद्धार्थ बैंकको बुकक्लोज हुँदैछ, किनिहालौं। लाभांश पनि राम्रै छ। अब बजारबाट क्यापिटल गेन नभएपछि लाभांश खाएरै भए पनि कित्ता बढाऔं।’

अर्कोतर्फ बसेका महिला लगानीकर्ताहरू पनि बुकक्लोज हुन बाँकी बैंकका स्क्रिप्ट छनोट गर्दै थिए।

एक महिला लगानीकर्ताले भनिन्, ‘बैंकहरूमा राम्रो लाभांश भनेकै सिद्धार्थ बैंकको लाग्यो। लाभांश खाने हो भने यही बैंक किन्दा ठीक होला।’

उनले बोनस सेयरभन्दा नगद लाभांश आफूलाई आकर्षक लागेको सुनाइन्। ‘बोनसबाट कित्ता बढे पनि बेच्न समय लाग्छ, नगद भए त सिधै खातामा आइहाल्छ,’ उनले भनिन्।

त्यसक्रममा बजार सामान्य अंकले बढिसकेको थियो। केही लगानीकर्ता शिवम् सिमेन्ट, गुहेश्वरी मर्चेन्ट बैंक तथा लक्ष्मी सनराइज बैंकको सेयर मूल्य नियालिरहेका थिए भने अर्की महिला लगानीकर्ताले सीईडीबी होल्डिङ्सले राम्रो लाभांश दिन सक्ने अपेक्षा सुनाइन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लकइन खुल्ने कम्पनी कि सस्ता बैंक ? रणनीति दुई धारमा

त्यसपछि हामी अनामनगरस्थित आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज पुग्यौं। त्यहाँ पनि लगानीकर्ताको संख्या बाक्लै थियो।

लगानीकर्ता बजारसँगै राजनीतिक विषयमा समेत गफिइरहेका थिए। एउटा समूहमा भने लकइन अवधि सकिन लागेका कम्पनीको विषयले बहस तताएको थियो।

एक लगानीकर्ताले भने, ‘लकइन अवधि सकिन लागेको कम्पनी किन्नै हुँदैन। संस्थापकले ठूलो परिमाणमा सेयर बेच्न सक्छन्, त्यसपछि मूल्य घट्ने जोखिम हुन्छ।’

उनले थपे, ‘लकइन खुल्ने बेलामा मूल्य बढाउने, त्यसपछि संस्थापकले सेयर बेच्ने अवस्था आयो भने अन्तिममा सोझा लगानीकर्ता फस्छन्।’

तर उनको तर्कमा अर्का लगानीकर्ता सहमत थिएनन्। उनले भने, ‘लकइन सकिनेबित्तिकै सबै संस्थापकले सेयर बेच्छन् भन्ने हुँदैन। बरु लकइनको हल्ला गरेर बजारका अरू खेलाडीले मूल्य बढाउने–घटाउने काम गर्न सक्छन्।’

सोही क्रममा एक लगानीकर्ताले हाथवे इन्भेष्टमेन्ट कम्पनीका हेमराज ढकालले ठूलो संख्यामा सेयर बिक्री गर्न लागेको चर्चा पनि सुनाए।

अर्को समूहमा भने पुनः लाभांशकै बहस चलिरहेको थियो।

एक लगानीकर्ताले भने, ‘सिद्धार्थ बैंकको बुकक्लोज हुन लागेछ। बुकक्लोजपछि सेयरभाउ समायोजन भएर करिब ४०० रुपैयाँ आसपास आउने देखिन्छ।’

उनले थपे, ‘राम्रो लाभांश दिन सक्ने बैंकको सेयर किनेर राख्दा फाइदा नै देखिन्छ। लाभांश नै नदिए पनि सस्तो बैंकको सेयर केही वर्ष होल्ड गर्ने हो भने राम्रो रिटर्न आउन सक्छ।’

उनले उदाहरण दिँदै भने, ‘मेरो एक साथीले दुई वर्षअघि लक्ष्मी सनराइज बैंकको एक लाख कित्ता सेयर प्रतिकित्ता १५० रुपैयाँमा किनेको थियो। अहिले त्यसको मूल्य २५० रुपैयाँभन्दा माथि छ।’

‘क्यापिटल गेन सुस्त, अब बैंक सेयरतर्फ नजर’

त्यसपछि हामी अनामनगरमै रहेको दिपशिखा धितोपत्र कारोबार कम्पनीतर्फ लाग्यौं। त्यतिबेला नेप्से परिसूचक पुनः सामान्य अंकले घटिसकेको थियो।

त्यहाँ पनि लगानीकर्ता मोबाइलमा बजार हेर्न र आपसमा गफिन व्यस्त थिए। उनीहरूको छलफलको मुख्य विषय पनि लाभांश नै थियो।

एक महिला लगानीकर्ताले भनिन्, ‘यसपटक त दशैं खर्च पनि उठाउन सकिन्न जस्तो छ। लाभांश खाऊँ भने दशैंअघि दिने जस्तो पनि देखिँदैन।’

उनले विगत सम्झँदै भनिन्, ‘पोहोर–परारतिर लाभांशबाट छुट्टै आम्दानी हुन्थ्यो, बजारबाट नाफा खाएर पनि खर्च निस्किन्थ्यो। यसपटक त सोचेजस्तो नै भएन।’

केहीबेरपछि उनीसँगै बसेकी अर्की महिला लगानीकर्ताले भनिन्, ‘अब दशैंलाई मात्रै टार्गेट नगरी बजारबाट राम्रो कमाउने हो भने ३०० रुपैयाँभन्दा मुनिका बैंकहरूको सेयर उठाउँदा फाइदा हुन सक्छ।’

उनले थपिन्, ‘बैंकहरूको सेयरमा तुलनात्मक रूपमा जोखिम कम हुन्छ र वर्षेनी केही प्रतिशत भए पनि डिभिडेन्ड आउने सम्भावना रहन्छ।’

समग्रमा सोमबार हामीले अवलोकन गरेका ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थितिमा सुधार देखिए पनि बजारप्रतिको आक्रामक उत्साह भने देखिएन। छोटो अवधिको क्यापिटल गेनभन्दा लाभांश, तुलनात्मक रूपमा सस्ता बैंक सेयर र दीर्घकालीन होल्डिङतर्फ लगानीकर्ताको चासो बढेको देखिन्थ्यो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.