काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले निष्कासन गरेको ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’मा तीन दिनमै प्रारम्भिक निष्कासन रकमभन्दा बढीको आवेदन परेको छ। क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म ८० करोड रुपैयाँभन्दा बढीको इकाइ खरिदका लागि आवेदन प्राप्त भएको हो।
क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाइ निष्कासन गरेको छ। यसअनुसार फन्डको प्रारम्भिक आकार ८० करोड रुपैयाँ हो। कुल इकाइमध्ये न्यूनतम १ करोड २० लाख इकाइ, अर्थात् १५ प्रतिशत, कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित राखिएको छ। बाँकी ६ करोड ८० लाख इकाइमा सर्वसाधारण तथा संस्थाहरूले आवेदन दिन सक्नेछन्।
माग प्रारम्भिक निष्कासन रकमभन्दा बढी पुगे पनि स्वीकृत विवरणपत्रमा फन्डको आकार ८० करोडबाट बढाएर अधिकतम १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था छ। आवेदन दिने अवधि भने थपिने छैन। असोज १३ गते बैंकिङ समय सकिएपछि आवेदन बन्द हुने क्यापिटलले जनाएको छ।
यो १० वर्ष अवधि भएको बन्दमुखी म्युचुअल फन्ड हो। क्यापिटलका अनुसार संकलित रकमको अधिकांश हिस्सा दोस्रो बजारमा सूचीकृत कम्पनीका धितोपत्रमा लगानी गरिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्छन्। सीआस्बा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्थाका शाखा वा ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।