काठमाडौं। यदि तपाईं युट्युबमा सक्रिय हुनुहुन्छ भने ‘मिस्टर बीस्ट’को नाम सायद सुन्नुभएको होला।
मिस्टर बीस्ट विश्वकै सबैभन्दा ठूला युट्युबरमध्ये अग्रस्थानमा छन्। युट्युबसहित ठूला सामाजिक सञ्जाल प्लेटफर्ममा उनका फलोअर्सको संख्या जोड्दा ८७ करोडभन्दा बढी पुग्छ।
मिस्टर बीस्टको वास्तविक नाम के हो ?
मिस्टर बीस्टको वास्तविक नाम जिमी डोनाल्डसन हो। उनी विश्वका धेरै देशका बालबालिका तथा युवामाझ निकै लोकप्रिय छन्।
सन् १९९८ मा जन्मिएका मिस्टर बीस्टले आफ्नो पहिलो ब्रान्ड डिलबाट १० हजार अमेरिकी डलर पाएका थिए। उक्त रकम उनले एक घरबारविहीन व्यक्तिलाई दिएका थिए।
मिस्टर बीस्टले युट्युबबाट कमाएको रकमको ठूलो हिस्सा दान गर्ने गरेको बताइन्छ।
उनी ११ वर्षको उमेरदेखि नै युट्युबमा भिडियो अपलोड गर्दै आएका छन्। उनका एउटा युट्युब च्यानलमै ५१ करोड ८० लाखभन्दा बढी सब्सक्राइबर छन्। इन्स्टाग्राममा मात्रै उनका ८९ मिलियन अर्थात् करिब ९ करोड फलोअर्स छन्।
मिस्टर बीस्टले युट्युबमा दर्शकलाई चकित पार्ने किसिमका भिडियो बनाउने गर्छन्। उनका अधिकांश भिडियोमा ठूलो पुरस्कार राशिसमेत राखिएको हुन्छ।
यस्ता भिडियोमा विभिन्न व्यक्ति वा समूहलाई प्रतिस्पर्धामा सहभागी गराइन्छ र विजेतालाई ठूलो रकम पुरस्कारका रूपमा दिइन्छ।
मिस्टर बीस्टको कमाइ कति ?
फोर्ब्सले सन् २०२६ को अगस्टमा प्रकाशित गरेको रिपोर्टअनुसार मिस्टर बीस्टको नेटवर्थ ३०० मिलियन अमेरिकी डलर बराबर छ। फोर्ब्सको शीर्ष कन्टेन्ट क्रिएटरको सूचीमा उनी पहिलो स्थानमा छन्।
मिस्टर बीस्ट अब व्यक्तिगत वित्त अर्थात् ‘पर्सनल फाइनान्स’ क्षेत्रमा पनि प्रवेश गर्ने तयारीमा छन्।
युट्युबबाहेक उनी खाद्य सामग्री, खेलौना तथा कपडासँग सम्बन्धित लाइसेन्सिङ व्यवसायमा पनि संलग्न छन्। उनको ‘बीस्ट गेम्स’ नामक शो अमेजन प्राइममा समेत प्रसारण हुन्छ।
सन् २०२६ को फेब्रुअरीमा बीस्ट इन्डस्ट्रीले युवालाई लगानीसम्बन्धी जानकारी दिने ‘स्टेप’ नामक एप खरिद गरेको थियो।
यसै वर्ष जुलाई २०२६ मा मिस्टर बीस्टले आफ्नी मंगेतर थिया बूसेनसँग विवाह गरेका छन्। उनले इन्स्टाग्राममार्फत आफूले ‘मिसेज बीस्ट’ पाएको जानकारी दिएका थिए।
सामाजिक सञ्जालमा मिस्टर बीस्टको जीवनशैली निकै खुला देखिए पनि विवाहको विषयलाई भने निजी राख्न चाहेको उनले बताएका थिए।
उनकी पत्नी दक्षिण अफ्रिकी हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।