काठमाडौं। च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले नयाँ पुस्ताको कृत्रिम बुद्धिमत्ता नमुना ‘जीपीटी–६.१ एस्ट्रा’ तत्काल सार्वजनिक नगर्ने भएको छ।
कम्पनीले मंगलबार उक्त नमुना सुरक्षा र विश्वसनीयतासम्बन्धी आफ्ना निर्धारित मापदण्डमा पूर्ण रूपमा खरो उत्रिन नसकेको पुष्टि गर्दै तत्काल सार्वजनिक नगर्ने निर्णय गरेको जनाएको हो।
ओपनएआईकी सुरक्षा प्रणाली प्रमुख साची जैनका अनुसार उक्त कृत्रिम बुद्धिमत्ता नमुनाले आफैं अन्तरसञ्जालमा सामग्री खोज्ने तथा विभिन्न अनुप्रयोग प्रयोग गरेर काम गर्न सक्ने क्षमता राख्छ। तर, परीक्षणका क्रममा यसको कार्यसम्पादन कम्पनीले अपेक्षा गरेअनुसार विश्वसनीय देखिएन।
उनका अनुसार नमुनाले आफूले कुन सीमा र कुन अधिकारभित्र रहेर काम गर्नुपर्छ भन्ने विषय बुझ्न कठिनाइ देखाएको थियो। त्यसैगरी, आफूले गरेका कामबारे प्रयोगकर्तालाई कति सही र पारदर्शी जानकारी दिन सक्छ भन्ने विषयमा पनि पर्याप्त स्पष्टता देखिएको थिएन।
जैनले सामान्य प्रयोगकर्ताका लागि कुनै कृत्रिम बुद्धिमत्ता नमुना सार्वजनिक गर्दा सुरक्षा र जिम्मेवार व्यवहारसम्बन्धी मापदण्ड निकै उच्च राखिने बताइन्।
उनले भनिन्, ‘हामी आफ्ना नमुनाको विकास पूर्ण रूपमा सुरक्षित ढंगले होस् भन्ने चाहन्छौँ। तर कुनै नमुना सर्वसाधारणका लागि सार्वजनिक गर्दा सुरक्षा र जिम्मेवार व्यवहारका विषयमा हाम्रो मापदण्ड अत्यन्त उच्च हुन्छ।’
पछिल्ला केही सातायता ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईसहित कृत्रिम बुद्धिमत्ता क्षेत्रमा सक्रिय विभिन्न व्यक्तिले यसको तीव्र विकासप्रति चिन्ता व्यक्त गर्दै यस क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गर्दै आएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।