काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले हाल विद्यमान नियम तथा नियमनले दिएका सम्पूर्ण विषय ‘इन्डेक्स’ कारोबारमा समेट्ने गरी काम भइरहेको बताएका छन्।
अर्थ समितिले आयोजना गरेको ‘नयाँ नीति तथा इन्डेक्स’ सम्बन्धी छलफलमा सुवेदीले सेबोन र अर्थ मन्त्रालयबाट प्राप्त सुझाव तथा निर्देशनका आधारमा आवश्यक तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार हाल नेप्सेमा इक्विटी, म्युचुअल फन्ड, डिबेन्चर र ओटीसी मार्केट सञ्चालनमा छन्। पछिल्लो समय मार्जिन ट्रेडिङ र लगानीकर्ताको मागअनुसार ‘अपर मार्केट अर्डर’ सुविधासमेत सञ्चालनमा ल्याइएको उनले बताए।
सुवेदीले अनलाइन ट्रेडिङ सिस्टम तथा त्यसको स्रोत कोडसमेत पूर्ण रूपमा नेप्सेकै स्वामित्वमा रहेको स्पष्ट पारे। प्रणाली सञ्चालनका लागि आवश्यक सबै प्रणाली र स्रोतमा नेप्सेको नियन्त्रण रहेको उनको भनाइ छ।
‘यसको सञ्चालन, नियमन तथा आवश्यकताअनुसार परिमार्जन गर्ने सम्पूर्ण जिम्मेवारी नेप्सेकै हो,’ सुवेदीले भने, ‘टीएमएस तथा कारोबार प्रणालीसँग सम्बन्धित विषयमा लगइन तथा पासवर्ड उपलब्ध गराउनेदेखि सञ्चालनको जिम्मेवारीसम्म सम्बन्धित ब्रोकरकै हुन्छ।’
नेप्सेले नियमित रूपमा अनसाइट तथा अफसाइट अनुगमन गर्दै प्रत्येक त्रैमासमा सञ्चालनसम्बन्धी प्रतिवेदन तयार पार्ने गरेको पनि उनले जानकारी दिए।
लगानीकर्तालाई सही समयमा पर्याप्त सूचना उपलब्ध गराउनु पूँजीबजारको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै सुवेदीले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन ‘प्रोएक्टिभ स्टडी’ गर्नुपर्ने आवश्यकता औँल्याए।
बैठकमा अर्थ मन्त्रालयका सचिवले समेत आम लगानीकर्ताको हितलाई केन्द्रमा राखेर बजारमा देखिएका समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।