काठमाण्डौ । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले गत भदौ १० गते रसुवालगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ।
सहयोग रकम कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट संकलन गरिएको हो।
भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल आवश्यकता सम्बोधन गर्न, राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन र प्रभावित समुदायको पुनर्स्थापनामा योगदान दिने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ।
लक्ष्मी सन्राइज क्यापिटलले विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएको बताएको छ।
कम्पनीले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।