काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास(पुस मसान्त)सम्ममा सरकारले पुँजी बजारबाट करिब १ अर्ब ९० करोड पुँजीगत लाभकर उठाएको छ ।
गत आर्थिक वर्षको पूरा अवधिमा पूँजीबजारबाट उठेको राजश्वको तुलनामा ६ महिनासम्मको प्रगति सन्तोषजनक हो । किनभने गत आर्थिक वर्षको पूरा अवधिमा सरकारले पूँजीबजारबाट करिब ३ अर्ब मात्रै राजश्व उठाएको थियो ।
तर, बजार चलायमान भएका कारण आर्थिक वर्ष २०७८–७९ मा भने सरकारले पूँजीबजारबाट १० अर्ब ३५ करोड राजश्व उठाउने ऐतिहासिक सफलता पाएको थियो ।
सरकारले चालु आ.ब.को ६ महिनामा पूँजीबजारबाट उठाएको राजश्वको अवस्थालाई हेर्दा र यो दर वर्षको अन्तिमसम्मै कायम रहेमा करिब ४ अर्ब हाराहारीमा राजश्व उठ्ने देखिन्छ ।
सीडीएसीकाअनुसार समीक्षा अवधिमा व्यक्तिगततर्फ अल्पकालीन लगानीकर्ताले १ अर्ब १६ करोडबराबर पुँजीगत लाभकर तिरेका छन्।
व्यक्तिगततर्फ दीर्घकालिन लगानीकर्ताहरुले ५० करोड ५७ लाख रुपैयाँ करमा योगदान गरेका छन् । यस अवधिमा संस्थागत लगानीकर्ताहरुले भने २२ कराड ३४ लाख रुपैयाँ बराबरको राजश्वमा योगदान गरेको देखिएको छ ।
सेयर बजारमा दीर्घकालीन भन्दा अल्पकालीन लगानीकर्ताले बढी पुँजीगत कर तिर्दै आएका छन् । अल्पकालीन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।
संस्थागत लगानीकर्ताले भने १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।
सरकारले चालु वर्षमा पुँजीबजारबाट ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । सरकारको लक्ष्य अबको ६ महिनाभित्र पूरा हुन बजार बुम भई कारोबार समेत रेकर्ड लेभलमा हुन आवश्यक देखिन्छ ।