काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको १९ लाख ९२ हजार १३४ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।
कम्पनीले गत वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत वैशाख २७ गते खोलिएकोमा जेठ १ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।
आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम जेठ ३ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको अवितरित हकप्रद सेयरको कटअफ मूल्य प्रतिकित्ता १४३.५० रुपैयाँ कायम भएकोमा उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।