शुक्रबार, आश्विन २३,२०८३ 08:58:13
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 08:58:13
Bizshala
Global IME Bank Limited

सेबोनको निर्देशन संशोधन: लकइन सकिएपछि आफ्नो सेयरको १५% वा बढी बेच्दा मात्र पूर्वसूचना दिनुपर्ने, ५ कारोबार दिनअघि दिए पुग्ने

Bizshala
सेबोनको निर्देशन संशोधन: लकइन सकिएपछि आफ्नो सेयरको १५% वा बढी बेच्दा मात्र पूर्वसूचना दिनुपर्ने, ५ कारोबार दिनअघि दिए पुग्ने
New Office

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी निर्देशन संशोधन गर्दै पूर्वसूचना दिनुपर्ने सीमा र समयावधि परिवर्तन गरेको छ। अब सम्बन्धित निर्देशनको दायरामा पर्ने आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्नुपरेमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ।

साबिकको निर्देशनमा आफूले धारण गरेको सेयरको पाँच प्रतिशत वा सोभन्दा बढी बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्री गर्नुभन्दा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो। संशोधनसँगै सूचना दिनुपर्ने बिक्रीको सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ भने पूर्वसूचनाको अवधि १५ दिनबाट घटाएर पाँच कारोबार दिन कायम गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बोर्डले असोज २३ गते सम्पूर्ण सूचीकृत कम्पनीलाई पत्र पठाउँदै २०८३ भदौ ९ गते जारी निर्देशन परिमार्जन, संशोधन तथा थप गरेको जानकारी दिएको हो।

संशोधित निर्देशनमा यसको दायरा पनि स्पष्ट गरिएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ बमोजिमको लकइन अवधि समाप्त भएका कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासनका बखत कायम रहेका आधारभूत सेयरधनीलाई यो व्यवस्था लागू हुने उल्लेख छ। साबिकको निर्देशनमा भने नेप्सेमा सूचीकृत कम्पनीका आधारभूत सेयरधनी भन्ने व्यवस्था थियो; आईपीओका बखत कायम रहेका सेयरधनी र लकइन अवधि समाप्त भएको सर्त यसरी खुलाइएको थिएन।

नयाँ व्यवस्थाअनुसार त्यस्ता आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्नुपरेमा त्यससम्बन्धी सूचना पाँच कारोबार दिनअघि कम्पनीलाई दिनुपर्नेछ। यहाँ १५ प्रतिशत भन्नाले कम्पनीको कुल सेयरको नभई सम्बन्धित सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत बुझिन्छ।

उदाहरणका लागि, निर्देशनको दायरामा पर्ने आधारभूत सेयरधनीसँग एक लाख कित्ता सेयर भएमा साबिकको व्यवस्थाअनुसार पाँच हजार कित्ता वा सोभन्दा बढी बिक्री गर्न १५ दिनअघि सूचना दिनुपर्थ्यो। संशोधित व्यवस्थामा भने १५ हजार कित्ता वा सोभन्दा बढी बिक्री गर्न पाँच कारोबार दिनअघि सूचना दिनुपर्ने हुन्छ।

कम्पनीले प्राप्त सूचना सार्वजनिक गर्ने समयसम्बन्धी व्यवस्था पनि थप स्पष्ट गरिएको छ। साबिकको निर्देशनमा कम्पनीले सेयर बिक्रीको सूचना नेप्सेमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख थियो। संशोधित निर्देशनमा भने कम्पनीले सूचना प्राप्त भएपछि यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने भनिएको छ।

सेयर बिक्री गर्ने आशयसम्बन्धी सूचनाको वैधता भने परिवर्तन गरिएको छैन। साबिकमा जस्तै संशोधित निर्देशनमा पनि यस्तो सूचना तीन महिनासम्म वैध रहने व्यवस्था छ।

बोर्डले सेयर बिक्रीको सूचना दिएपछि पुनः सोही कम्पनीको सेयर खरिद गर्ने अवस्थाका लागि समेत नयाँ व्यवस्था थपेको छ। निर्देशन नम्बर १(क) अनुसार बिक्री गर्ने आशयको सूचना प्रवाह गरेका सेयरधनीले आफूले बिक्री गर्न चाहेको सेयर बिक्री नगरेको वा पूर्ण रूपमा बिक्री गरिनसकेको अवस्थामा पुनः सोही कम्पनीको सेयर खरिद गरेमा त्यसको जानकारी कम्पनीलाई दिनुपर्नेछ।

यस्तो खरिद कारोबार सम्पन्न भएपछि सेयरधनीले यथाशीघ्र खरिदको मूल्य र परिमाण खुलाएर कम्पनीलाई जानकारी गराउनुपर्नेछ। कम्पनीले पनि प्राप्त खरिदसम्बन्धी जानकारी यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। साबिकको निर्देशनमा यस्तो खरिदसम्बन्धी छुट्टै व्यवस्था थिएन।

यसरी संशोधनले आधारभूत सेयरधनीको बिक्री पूर्वसूचनासम्बन्धी सर्त खुकुलो बनाएको छ भने बिक्रीको सूचना दिएर सेयर बिक्री नगर्ने वा आंशिक रूपमा मात्रै बिक्री गर्ने सेयरधनीले पुनः खरिद गर्दा त्यसको विवरण सार्वजनिक गर्नुपर्ने नयाँ दायित्व थपेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.