काठमाडौं । जेटुर नेपालले प्रिमियम एसयूभी खोज्ने ग्राहकलाई लक्षित गर्दै टी१ र टी२ मोडलको प्रि–बुकिङ खुला गरेको छ। बिजुली र इन्धन दुवैबाट चल्ने प्लग–इन हाइब्रिड विकल्पसँगै टी२ मा इन्धन इन्जिनयुक्त अल ह्विल ड्राइभ विकल्पसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
दशैंको अवसर पारेर सोमबार काठमाडौंको थापाथलीस्थित शोरुममा पूजापाठ गरेसँगै कम्पनीले दुवै मोडलको औपचारिक बुकिङ सुरु गरेको हो।
जेटुर टी१ को प्लग–इन हाइब्रिड इलेक्ट्रिक भेहिकल (पीएचईभी) भेरियन्टको प्रारम्भिक मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। टी२ को पीएचईभी र इन्टरनल कम्बसन इन्जिन (आईसीई) दुवै भेरियन्टको प्रारम्भिक मूल्य भने १ करोड ५५ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। यसअनुसार टी१ भन्दा टी२ को मूल्य १३ लाख रुपैयाँ बढी छ।
पीएचईभी भेरियन्टमा विद्युतीय ड्राइभिङ क्षमता र इन्धन इन्जिनको संयोजन छ। टी२ को आईसीई भेरियन्टमा भने अल ह्विल ड्राइभ (एडब्ल्यूडी) उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ। यसले ग्राहकलाई आफ्नो ड्राइभिङ आवश्यकता र रोजाइअनुसार प्रविधि छनोट गर्ने विकल्प दिएको छ।
कम्पनीले दुवै मोडलमा आकर्षक बाहिरी बनावट, आधुनिक डिजाइन र उन्नत अटोमोबाइल प्रविधि समेटिएको दाबी गरेको छ। कार्यसम्पादन, आराम र विभिन्न प्रयोजनमा उपयोगितालाई यी गाडीको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ।
इच्छुक ग्राहकले थापाथलीस्थित जेटुर शोरुममा पुगेर दुवै मोडल प्रत्यक्ष हेर्न, उपलब्ध भेरियन्ट तथा सुविधाबारे जानकारी लिन र प्रि–बुकिङ गर्न सक्नेछन्।
कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा ब्याट्री क्षमता, विद्युतीय रेन्ज, इन्जिनको विस्तृत विवरण, बुकिङ रकम र गाडी हस्तान्तरणको समय भने खुलाइएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।