काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी जेठ २८ गते बिहानको ११ बजे काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
बोनस शेयर जारी गरे पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिर्वतन हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिकों बैंठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदनका गरिनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
यस्तै सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी जेठ १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।