काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले आफ्नो पहिलो पिक अप ट्रक‘ सार्क’ लाई पहिलोपटक चीनबाहिर डेब्यू गरेको छ । कम्पनीले मेक्सिको सिटीमा पिकअप ट्रक ‘बीवाईडी सार्क’ लाई सार्वजनिक गरेको हो ।
२०२४ बीवाईडी सार्क ५०० माईलको गति लिन सक्ने प्लग–इन हाईब्रिड पावरट्रेन भएको मिडसाइज ट्रक हो । उत्तर अमेरिकामा चिनियाँ ईभी सवारीका बारेमा उत्पन्न भईरहेको तमाम विवादहरुका बीच कम्पनीले मेक्सिकोमा आफ्नो पिक अप ट्रक सार्वजनिक गरेको हो ।
यससँगै विश्व बजारमा बीवाईडी सार्कले फोर्ड रेञ्जर, चेभरोलेट कोलोराडो,टोयोटा हाईलक्स र निस्सान जस्ता विश्व स्थापित ब्राण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । ल्याटिन अमेरिका र एशियामा पिकअप सेग्मेन्टको बजार ठूलो भएकाले अमेरिकामा बीवाईडी सार्क बिक्री नभएपनि यसले विश्व अटो बजारमा ठूलो प्रभाव पार्ने आँकलन गरिएको छ ।
तत्कालका लागि बीवाईडी सार्क चीनमै उत्पादन हुनेछ । तर कम्पनीले चाँडै नै मेक्सिकोमा उत्पादन हुने स्थान सार्वजनिक गर्ने तयारी गरिरहेको छ । स्थान छनौट गरेपछि कम्पनीले मेक्सिकोमै बीवाईडी सार्क उत्पादन गर्नेछ ।
यसअघि अल्फा रोमियो, अडी र ल्याम्बोरगिनीमा काम गरिसकेका ग्लबोल डिजाइन डाइरेक्टर वल्फग्याङ इग्गरले डिजाइन गरेको बीवाईडी सार्कको डिजाइन बोल्ड र मस्कुलर बक्सी लाइन छ । फोर्ड एफ–१५० लाईटनिङसँग बीवाईडीको धेरै कुरा समान छ । यसको वर्गाकार हेडलाइट र टेललाइट र अगाडि र पछाडी रहेको लाइटबार फोर्ड एफ–१५० सँग मेल खान्छ ।
यस्तै एफ–१५० र्याप्टरमा जस्तै बीवाईडीको नाम पनि गाडीको टेलगेट र ग्रिलमा राखिएको छ । यसमा रहेको १२८.३ इन्चको ह्विलबेसले यसलाई अफ रोडमा कुदाउन सजिलो बनाउँछ । भित्री भागमा क्याबिन डिजाइन फिचर्सलाई हाईलाइट गर्न मल्टीपल कलर प्रयोग गरिएको छ ।
बीवाईडी सार्कमा बीवाईडी युअन र सिलमा जस्तै १२.८ इन्चको घुम्ने स्क्रिन रहेको छ । यो स्क्रिन पोट्रेट र ल्याण्डस्केप दुवै मोडमा प्रयोग गर्न सकिन्छ र यसले एप्पल कार प्ले र एन्ड्रोइड अटो दुवैलाई सर्पोट गर्छ । यसमा चालकका लागि बेग्लै १०.२५ इन्चको डिस्प्ले र १२ इन्चको हेड–अप डिस्प्ले दिइएको छ । यसले चालकलाई गाडीको गति र दिशा देखाउँछ ।
यसमा १.५ लिटरको चारवटा सिलेण्डर इन्जिन र दुईवटा इलेक्ट्रिक मोटर रहेको छ । जसले संयुक्त रुपमा ४३० एचपी पावर जेनेरेट गर्छ । यसको सुरुवाति मूल्य मूल्य ५३ हजार ४४० अमेरिकी डलर रहेको छ । -एजेन्सी