काठमाण्डौ । आईसीएफसी फाइनान्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा तीन गुणाभन्दा बढी बनाएको छ। खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढ्नुका साथै कर्जा नोक्सानी खर्च घट्दा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो।
कम्पनीले असोज मसान्तसम्म ६ करोड ९७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा २ करोड २४ लाख ५५ हजार रुपैयाँ थियो। यो २१०.७९ प्रतिशतको वृद्धि हो।
यता अघिल्लो वर्षको पहिलो त्रैमासमा २.७७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर १.९५ प्रतिशतमा आएको छ।
कम्पनीको खुद ब्याज आम्दानी १६.९६ प्रतिशतले बढेर १८ करोड ६३ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी १५ करोड ९३ लाख ६१ हजार रुपैयाँ थियो।
आम्दानी बढिरहँदा कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको इम्पेयरमेन्ट खर्च भने २१.५१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ६ करोड ६८ लाख ५४ हजार रुपैयाँ रहेको यस्तो खर्च यसपटक ५ करोड २४ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ।
नाफामा आएको सुधार प्रतिसेयर आम्दानीमा पनि देखिएको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ७.५९ रुपैयाँबाट बढेर २३.५९ रुपैयाँ पुगेको छ। इक्विटीमा प्रतिफल ४.१३ प्रतिशतबाट १२.८२ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.३७ प्रतिशतबाट १.०१ प्रतिशत पुगेको छ। असोज मसान्तमा प्रतिसेयर नेटवर्थ १८४.०६ रुपैयाँ छ।
खुद नाफामा उल्लेख्य वृद्धि भए पनि यस त्रैमासको वितरणयोग्य नतिजा भने अझै ऋणात्मक छ। आवश्यक विनियोजन तथा नियामकीय समायोजनपछि तीन महिनाको वितरणयोग्य नतिजा १ करोड ८५ लाख ८० हजार ७६१ रुपैयाँ ऋणात्मक देखिएको छ।
अघिल्लो वर्षको यही अवधिमा यस्तो घाटा ६ करोड २१ लाख ९० हजार ६१७ रुपैयाँ थियो। अर्थात् त्रैमासिक वितरणयोग्य घाटाको आकार ७०.१२ प्रतिशतले घटेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।