काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको खुद नोक्सानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब आधा घटेको छ। खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि र कर्जा नोक्सानी व्यवस्थाको खर्चमा आएको कमीले वित्तीय नतिजामा सुधार देखिए पनि कम्पनी नाफामा फर्किन सकेको छैन।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नोक्सानी २ करोड ९९ लाख ५२ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ९५ लाख ६० हजार रुपैयाँ घाटामा थियो। यस आधारमा खुद नोक्सानी ४९.७१ प्रतिशत घटेको हो।
कम्पनीको खुद ब्याज आम्दानी भने झन्डै दोब्बर भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड ८० लाख रुपैयाँ रहेको यस्तो आम्दानी ९३.९२ प्रतिशत बढेर ३ करोड ४९ लाख रुपैयाँ पुगेको छ। कुल ब्याज आम्दानी ७.८५ प्रतिशत बढ्नु र ब्याज खर्च १५.३१ प्रतिशत घट्नुले खुद ब्याज आम्दानीमा सुधार आएको हो।
कोषको लागत घट्नुले पनि कम्पनीलाई राहत दिएको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिमा ६.५० प्रतिशत रहेको यस्तो लागत अहिले ४.७९ प्रतिशतमा झरेको छ। आधारदर पनि ८.९० प्रतिशतबाट घटेर ७.३७ प्रतिशत कायम भएको छ।
नोक्सानी घटाउन अर्को महत्वपूर्ण भूमिका इम्पेयरमेन्ट खर्चमा आएको कमीको छ। कर्जा तथा अन्य नोक्सानीबापतको यस्तो खर्च अघिल्लो वर्षको ५ करोड ३७ लाख रुपैयाँबाट ५५.८६ प्रतिशत घटेर २ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।
कुल निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्षको पहिलो त्रैमासको १३.१० प्रतिशतबाट बढेर १३.७४ प्रतिशत पुगेको छ। असोज मसान्तसम्मको कुल वितरणयोग्य नोक्सानी ४० करोड ६३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नोक्सानी ३३ करोड २६ लाख रुपैयाँ थियो। अर्थात् कुल वितरणयोग्य नोक्सानी २२.१६ प्रतिशत बढेको छ।
कम्पनीको विवरणमा प्रतिसेयर आम्दानी ३.८५ रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ७.८४ रुपैयाँ ऋणात्मक थियो। चुक्तापुँजी ७७ करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.०४ रुपैयाँ छ। पुँजी पर्याप्तता अनुपात भने अघिल्लो वर्षको २८.२७ प्रतिशतबाट घटेर २६.९० प्रतिशत कायम भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।