काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङमा सुधार भएको छ।
रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले कम्पनीलाई यसअघि प्रदान गरेको [ICRANP-IR] AA- रेटिङलाई स्तरोन्नति गर्दै [ICRANP-IR] AA कायम गरेको हो।
इक्राका अनुसार ‘AA’ रेटिङ प्राप्त गर्ने संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले उच्च मात्रामा सुरक्षित मानिन्छ। यस्तो रेटिङ भएका संस्थामा क्रेडिट जोखिमसमेत निकै न्यून रहने इक्राले जनाएको छ।
रेटिङमा भएको यो सुधारले नेपाल लाइफको समग्र वित्तीय साख तथा दायित्व वहन गर्ने क्षमताप्रति रेटिङ एजेन्सीको विश्वास थप बलियो बनेको संकेत गर्छ।
यद्यपि इक्राले उक्त रेटिङ कम्पनीको समग्र क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र भएको र कुनै निश्चित ऋणपत्र वा वित्तीय उपकरणका लागि दिइएको रेटिङ नभएको स्पष्ट पारेको छ।
इक्राको रेटिङ संरचनाअनुसार ‘AA+’ लाई ‘AA’ भन्दा एक तह माथि र ‘AA-’ लाई एक तह तल मानिन्छ। यस आधारमा नेपाल लाइफको रेटिङ ‘AA-’ बाट ‘AA’ मा उक्लनु कम्पनीको क्रेडिट प्रोफाइलमा एक तहको सुधार हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।