काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आम्दानी घटे पनि खुद नाफा बढाएको छ ।कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार पहिलो तीन महिनामा १ करोड ७९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड ६६ लाख ७१ हजार रुपैयाँ थियो । यस आधारमा कम्पनीको नाफा एक वर्षमा करिब ७.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ४ करोड ९२ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५ करोड २६ लाख ६५ हजार रुपैयाँ थियो । अर्थात् कम्पनीको आम्दानी करिब ६.४५ प्रतिशत घटेको छ । आम्दानी घट्दा पनि नाफा बढ्नुमा वित्तीय लागतमा आएको कमी मुख्य कारण देखिएको छ ।
गत वर्षको पहिलो त्रैमासमा १ करोड ३८ लाख १० हजार रुपैयाँ रहेको वित्तीय लागत चालु वर्षको सोही अवधिमा घटेर १ करोड ८ लाख ८८ हजार रुपैयाँमा झरेको छ । वित्तीय लागत करिब २१.१५ प्रतिशत घटेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधारिएको छ । गत वर्षको पहिलो त्रैमासमा २.०८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले बढेर २.२४ रुपैयाँ पुगेको छ ।
प्रतिसेयर नेटवर्थ पनि ६२.६८ रुपैयाँबाट बढेर ६४.१० रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य प्रतिकित्ता २४८.९० रुपैयाँ रहँदा मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो ११०.९९ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीको रिटेन्ड अर्निङ भने अझै ऋणात्मक छ । असोज मसान्तसम्म रिटेन्ड अर्निङ २८ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यद्यपि गत असार मसान्तको ३० करोड ५१ लाख रुपैयाँ ऋणात्मक अवस्थाबाट भने सुधार आएको देखिन्छ ।
गत वर्षको असोज मसान्तमा कम्पनीको रिटेन्ड अर्निङ २९ करोड ८५ लाख रुपैयाँ ऋणात्मक थियो ।
कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ रहेको छ भने कुल सेयरधनी कोष ५१ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो कोष ४९ करोड ४८ लाख रुपैयाँ थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।