काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा आकर्षक सुधार गरेको छ । कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२४ प्रतिशतभन्दा बढीले बढेको छ ।
कम्पनीले असोज मसान्तसम्म ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसरी एक वर्षमै कम्पनीले नाफा करिब ३ करोड ५४ लाख रुपैयाँले बढाएको हो ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १३ करोड ८० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । आम्दानीमा करिब ६.८ प्रतिशतको वृद्धि भएको हो ।
आम्दानीमा सामान्य वृद्धि हुँदासमेत नाफामा ठूलो छलाङ आउनुको प्रमुख कारण वित्तीय लागतमा आएको गिरावट देखिन्छ । गत वर्ष पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६६ लाख रुपैयाँ वित्तीय लागत बेहोरेकोमा यस वर्ष यस्तो खर्च घटेर ३ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ । अर्थात् वित्तीय लागत करिब ३७ प्रतिशत घटेको छ ।
कम्पनीको करअघिको नाफा पनि गत वर्षको २ करोड ९७ लाख रुपैयाँबाट बढेर यस वर्ष ६ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । रिजर्भ तथा सरप्लस भने अझै ३२ करोड २६ लाख रुपैयाँ ऋणात्मक छ । यद्यपि अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चित घाटा करिब ३६ करोड ८३ लाख रुपैयाँ रहेकाले यसमा समेत सुधार देखिएको छ ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति करिब ३ अर्ब ११ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने दीर्घकालीन ऋण २ अर्ब २४ करोड २१ लाख रुपैयाँ हाराहारीमा रहेको छ ।
नाफामा आएको ठूलो सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी ६.३८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ६७.७४ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।