काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा बढाएको छ।
लघुवित्तले असोज मसान्तसम्म ३ करोड ६४ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीको खुद नाफा ३ करोड २६ लाख २९ हजार रुपैयाँ थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ११.७४ प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको निष्क्रिय कर्जा अर्थात् एनपीएल १९.५२ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यो अनुपात २०.९४ प्रतिशत थियो। संस्थाको खराब कर्जा अनुपातमा सामान्य सुधार देखिएसँगै नाफा वृद्धिमा टेवा पुगेको हो ।
असोज मसान्तसम्म कम्पनीको कर्जा तथा सापटी ३ अर्ब ३२ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा ३ अर्ब १५ करोड ४९ लाख रुपैयाँ थियो। तीन महिनामै कम्पनीको कर्जा विस्तार करिब १६ करोड ५८ लाख रुपैयाँले भएको देखिन्छ।
कम्पनीको खुद ब्याज आम्दानी पनि सामान्य रूपमा मात्रै बढेको छ। पहिलो त्रैमासमा कम्पनीले ७ करोड २७ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ७ करोड १८ लाख ८९ हजार रुपैयाँ थियो।
कम्पनीले कर्जा तथा अन्य नोक्सानीबापत २ करोड २१ लाख ८२ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज देखाएको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम ६३ लाख ४३ हजार रुपैयाँ मात्रै थियो। अर्थात् कर्जा नोक्सानीसम्बन्धी दबाब बढेको वित्तीय विवरणले देखाउँछ।
यद्यपि कम्पनीको सञ्चालन नाफा भने बढेको छ। पहिलो त्रैमासमा सञ्चालन नाफा ५ करोड २० लाख ८५ हजार रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा कम्पनीले ४ करोड ६६ लाख १४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो।
कम्पनीको चुक्तापुँजी २९ करोड १३ लाख ३७ हजार रुपैयाँ रहेको छ। सञ्चित नाफा २३ करोड ३६ लाख रुपैयाँभन्दा बढी र रिजर्भमा ३१ करोड ५८ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको वितरणयोग्य नाफा २३ करोड ३६ लाख ७१ हजार रुपैयाँभन्दा बढी देखिएको छ। पहिलो त्रैमासको नाफामध्ये वितरणका लागि उपलब्ध रकम २ करोड ७७ लाख रुपैयाँभन्दा बढी छ भने अघिल्लो वर्षबाट आएको सञ्चित वितरणयोग्य रकमसमेत जोड्दा कुल वितरणयोग्य रकम उच्च देखिएको हो।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ६ पैसा पुगेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ४४ रुपैयाँ ८० पैसा थियो।
कम्पनीको आधारदर १८.३९ प्रतिशत पुगेको छ भने कोषको लागत ९.३४ प्रतिशत र ब्याजदर अन्तर ४.२३ प्रतिशत रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।