काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य घटेको छ।
कम्पनीले असोज मसान्तसम्म ३ करोड ५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड २० लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ७५ प्रतिशतले घटेको हो।
कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य बढेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३३ करोड ५५ लाख रुपैयाँ थियो।
तर कम्पनीको सञ्चालन नाफा भने ठूलो मात्रामा घटेको छ। पहिलो त्रैमासमा सञ्चालन नाफा ४ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा सञ्चालन नाफा ११ करोड २९ लाख रुपैयाँ थियो।
कम्पनीको खराब कर्जा अनुपात पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ४.६९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात अहिले बढेर ११.८९ प्रतिशत पुगेको छ।
असोज मसान्तसम्म कम्पनीले करिब १४ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन करिब ३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।
कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड ३५ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४ पैसा रहेको छ। गत वर्षको यही अवधिमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४२ पैसा थियो।
कम्पनीको आधारदर १२.४२ प्रतिशत कोषको लागत ५.१५ प्रतिशत र तरलता अनुपात १३.७८ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।