काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित हकप्रद सेयरमा सरकारले लगानी गर्ने बाटो खोलेसँगै बुधबार दोस्रो बजारमा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य १५ प्रतिशत अर्थात् १२० रुपैयाँ २० पैसाले बढेर ९२१ रुपैयाँ ७० पैसा पुगेको छ।
मन्त्रिपरिषद्ले कम्पनीको हकप्रद सेयरमा सरकारका तर्फबाट थप लगानी गर्न सहमति दिने निर्णय गरेपछि लगानीकर्ता उत्साहित देखिएका हुन्।
नेपाल पुनर्बीमाले यसअघि १ः१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने योजना अघि सारेको थियो। पुरानै योजना कार्यान्वयन भए सरकारको ४४.०४ प्रतिशत हिस्साअनुसार करिब ५ अर्ब ९१ करोड रुपैयाँ थप लगानी हुने देखिएको छ ।
हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ। शतप्रतिशत हकप्रद पूर्ण रूपमा निष्कासन भए चुक्तापुँजी करिब २६ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ।
सरकारी लगानीको बाटो खुलेसँगै हकप्रद योजना अघि बढ्ने अपेक्षाले बुधबार नेपाल रिको सेयरमा तीव्र खरिद चाप देखिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।