काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका टिम्स, आउटलुक र कृत्रिम बौद्धिकतामा आधारित सफ्टवेयर कोपाइलट सञ्चालनमा समस्या आएको गुनासो गरेका छन्।
समस्या देखिएपछि माइक्रोसफ्टले त्यसलाई समाधान गर्न काम भइरहेको जनाएको छ।
कम्पनीका अनुसार आफ्नो पूर्वाधारको एक हिस्सामा आवश्यकताभन्दा बढी भार परेका कारण कनेक्टिभिटीमा समस्या उत्पन्न भएको हो।
माइक्रोसफ्टले यो समस्या सबैभन्दा पहिले अमेरिकामा देखिएको जनाएको छ। यद्यपि, यसबाट कुनै पनि क्षेत्रका प्रयोगकर्ता प्रभावित हुन सक्ने कम्पनीको भनाइ छ।
सेवामा आएको अवरोधबारे निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार नेपाली समयअनुसार बिहीबार राति करिब १२ बजे बेलायतमा माइक्रोसफ्टका सेवासम्बन्धी गुनासो अचानक बढेका थिए।
त्यस्तै, अमेरिकामा नेपाली समयअनुसार बिहीबार राति माइक्रोसफ्ट आउटलुकमा समस्या आएको भन्दै एक लाख ३१ हजारभन्दा बढी गुनासो दर्ता भएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।