काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १ प्रतिशतले बढेको छ । यसले आपूर्ति अवरुद्ध हुने चिन्ता बढाउँदा अघिल्लो दिन दुई महिनायताकै न्यून विन्दुमा पुगेको तेलको मूल्यमा सुधार आएको हो ।
इरानका सुरक्षा प्रमुखले देशमा रहेको प्रशोधित आणविक सामग्री बाहिर लैजान अनुमति नदिने बताएका थिए । यसैबीच अमेरिकाले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले हुने प्रारम्भिक वार्तामा आणविक मुद्दा पनि समावेश हुनुपर्ने बताउँदै आएको छ ।
बुधबार कारोबारको अन्त्यमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १.२७ डलर अर्थात् १.३९ प्रतिशतले बढेर ९२.७६ डलर पुगेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य ४९ सेन्ट अर्थात् ०.५७ प्रतिशतले बढेर ८६.५३ डलर कायम भएको छ ।
यसअघि अमेरिकी अधिकारीहरूले इरानमाथि थप सैन्य आक्रमण आवश्यक नरहेको संकेत गरेपछि मंगलबार तेलको मूल्य प्रतिब्यारेल ३ डलरभन्दा बढी घटेको थियो । तर, इरानी सुरक्षा अधिकारीले दुई देशबीच कुनै वार्ता नभइरहेको बताएपछि मूल्यमा भएको गिरावट केही सुधारिएको थियो ।
युद्ध अन्त्य हुने आशामा यस महिनाको सुरुदेखि ब्रेन्ट र डब्लूटीआई तेलको मूल्य क्रमशः २१ र १७ प्रतिशतले घटिसकेको छ ।
यसैबीच, इरानी सेनाले स्ट्रेट अफ होर्मुजस्थित ओमानको दिदामार टापुमा पानीजहाजको आवागमन प्रणालीलाई लक्षित गरी आक्रमण गरेको छ । यसले खाडी क्षेत्रबाट तेल आपूर्ति पुनः सञ्चालन गर्न प्रयोग हुने पूर्वाधारलाई समेत इरानले निशाना बनाउन सक्ने देखाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।